इटहरी : सर्वोच्च अदालतले बिहीबार उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई विरुद्धको मुद्दाको सुनुवाइ गरेको छ । सर्वोच्चको आदेशले मुख्यमन्त्री थापा  दोस्रो पटक पदच्युत भएका छन् ।

मुख्यमन्त्री थापाले पाएको विश्वासको मत असंवैधानिक ठहर गर्दै  ४८ घण्टा भित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डाक्टर  कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले मुख्यमन्त्री थापाले गत भदौ ४ गते लिएको विश्वासको मतलाई असंवैधानिक रहेको ठहर गरेको हो ।

संविधानको धारा १६८(३) बमोजिम कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चले आदेश दिएको छ । १६८ (२) अनुसार बहुमतको सरकार बन्न नसकेपछि प्रदेश सभाको ठुलो दलको नेताको हैसियतमा एमाले नेता कार्की दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन् ।

यसअघि प्रदेशसभा सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले थापालाई विश्वासको मत दिएका थिए ।

विश्वासको मत लिने समयमा उपसभामुख सृजना दनुवार अनुपस्थित थिइन । सत्ता गठबन्धनभित्र रहेका दलहरूको ४७ सिट भएपछि सभामुखको जिम्मेवारी लिँदा एक मत कम हुने भएपछि सभाको अध्यक्षता गरेका मन्सुरीले पनि मत दिएका थिए ।

सदनमा विरोध जनाएको एमालेको आवाजलाई एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सर्वोच्च अदालतमा रिटको रूपमा प्रस्तुत गरे ।