धरान : मेघा हिमालयन स्कुलले होटेल म्यानेजमेन्ट सङ्काय अन्तर्गत कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
पाँचतारे होटेलमा आयोजित कार्यक्रममा 'हस्पिटालिटी इन्डस्ट्री' (शिष्टाचार उद्योग) मा स्थापित विशिष्ट व्यक्तिहरूलाई पनि आमन्त्रण गरिएको थियो । विद्यार्थीहरूले उनीहरूसँग अन्तरक्रिया गर्ने अवसर पाएका थिए । यस क्षेत्रमा भर्खर पाइला राखेका विद्यार्थीले प्रत्यक्ष देखेर नै यस क्षेत्रबारे अनुभव गर्ने अवसर पाउन् भनेर कार्यक्रम आयोजना गरिएको मेघा हिमालयनका प्रिन्सिपल भाष्कर पौड्यालले बताए ।
पाठ्यक्रममा भएका सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने भएकाले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको होटेल म्यानेजमेन्ट सङ्कायका विभागीय प्रमुख पोषण श्रेष्ठले जनाए । ‘हस्पिटालिटी इन्डस्ट्री अहिले संसारकै ठुलो उद्योगमध्ये पर्छ’, श्रेष्ठले भने, ‘किताबको सैद्धान्तिक ज्ञानबाट मात्र यसलाई बुझ्न कठिन हुन्छ ।’ त्यसैले विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान पनि दिन पाँचतारे होटेल अवलोकन कार्यक्रम गरिएको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा इस्टर्न एम्पायर कलेज अफ होटेल म्यानेजमेन्टका सीईओ (प्रमुख कार्यकारी अधिकृत) आलोक कार्की उपस्थित थिए । सोही कलेजका उपल्लो तहका अन्य अधिकृतहरूले यस क्षेत्रमा ‘करियर अपर्चुनिटी’ बारे पनि विद्यार्थीहरूलाई महत्त्वपूर्ण जानकारी दिएका थिए । त्यस क्रममा विद्यार्थीहरूले नृत्य, गीत, र्याप वाकका साथै वक्तृत्व कलासमेत प्रस्तुत गरेका थिए ।
होटेल म्यानेजमेन्ट तर्फ २०८० मा कक्षा १२ को बोर्ड परीक्षामा यस विद्यालयका विद्यार्थी धरानकै उत्कृष्ट बन्न सफल भएका थिए । मेघा कलेजले होटेल म्यानेजमेन्ट तर्फ कक्षा ११ मा अध्ययनरत विद्यार्थीका लागि केही समयअघि एक महिने विशेष तालिम पनि सम्पन्न गरिसकेको छ । त्यस क्रममा ‘स्विस कार्यक्रम’ अन्तर्गत नेदरल्यान्डबाट आएका वरिष्ठ हस्पिटालिटी विज्ञले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । यसैगरी, मेघा कलेजले काठमाडौँबाट अन्तर्राष्ट्रिय प्लेयर बारटेन्डर बोलाएर भर्खरै ‘मेघा बारटेन्डिङ कार्यशाला’ पनि आयोजना गरेको छ ।
विद्यार्थीहरूलाई यस क्षेत्रबारे विशेष ज्ञान प्रदान गर्न यस प्रकारका विभिन्न प्रशिक्षण र कार्यशाला आयोजना गर्ने गरिएको विभागीय प्रमुख श्रेष्ठले बताए । ‘यसले उनीहरूलाई भविष्यमा स्वरोजगार बनेर आत्मनिर्भर बन्न सहयोग गर्नेछ ।’ उनले थपे ।