धरान : धरानका १९ वटा संस्थागत र सामुदायिक विद्यालयका २९ प्रतिस्पर्धीहरूलाई पछि पार्दै धरान मेघा हिमालयन स्कुलकी सम्पन्न सुवेदी प्लस टू स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन् ।

प्रतियोगितामा युएन नबोदयकी स्नेहा निरौला दोस्रो भएकी छन् । ज्ञानोदय माविकी अनिशा कार्की तेस्रो स्थानमा रहिन् । शारदा बालिका माविकी अनुस्का राई र युएन नबोदयकी शीतल अधिकारी चौथो र पाँचौँ स्थानमा रही सान्त्वना पुरस्कार प्राप्त गरिन् ।

र्‍याडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा आज मङ्गलवार भएको हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद १० हजार, ५ हजार, ३ हजार र प्रमाणपत्र प्रदान गरिएको छ । साथै चौथो र पाँचौँ हुनेलाई सान्त्वना पुरस्कार नगद १/१ हजार र प्रमाणपत्र प्राप्त प्रदान गरियो ।

विजेताहरूलाई समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद रमेश कुमार बस्नेत, धरान-१३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले,सुमेधा एजुकेसन नेटवर्कका निर्देशक सुरेन्द्र घिमिरे, हार्ट एफएमका अध्यक्ष मेहरमान ह्युजले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।

धरान-१३ वडा कार्यालयमा भएको समापनमा धरान-१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, नबोदय कलेजका राम लिम्बूले बधाई मन्तव्य दिए ।

प्रतियोगीताका सहभागीहरूले सहिदका सपना र युवाको दायित्व, सहिदका सपना र राजनीतिक नेतृत्व र लागू औषध दुर्व्यसन चुनौती र समाधानका उपायका विषयमा वक्तृत्वकला प्रस्तुत गरेका थिए ।