इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीको अधिवेशन देखिकै किचलोले निरन्तरता पाइरहेको छ । नगर अधिवेशनमा गुट उपगुटको निर्माणले बिथोलिएको एमालेलाई इटहरी उपमहानगरपालिकाको बजेट अधिवेशनले झनै गिजोल्यो । नगर अधिवेशनको प्रभाव बजेट अधिवेशनमा परेपछि एमाले भित्र रडाको नै मच्चियो । केन्द्रीय महासचिव देखि प्रदेश र जिल्ला इन्चार्ज सम्म पुगेर आरोप प्रत्यारोप भयो ।
इटहरी उपमहानगरपालिकाले असार १० गते पेस गरेको बजेट परिमार्जन सहित पारित गर्नुपर्ने उपमेयर सङ्गीता चौधरी सहित एमाले नगर कमिटीको अडान विपरीत असार मसान्तमा बजेट पास भयो । ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरीले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरेको छ । जुन अवास्तविक भएको एमालेको ठहर छ ।
तर एमालेकै वडाध्यक्ष र नगरसभा सदस्यको सहमतिमा बजेट पास भएको थियो । बजेट पास गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मध्ये नगर कमिटी उपसचिव तथा १६ नम्बरका वडाध्यक्ष तेजनारायण चौधरी हुन् । १७ नम्बरका वडाध्यक्ष प्रभात आचार्य सँगको सल्लाहमा चौधरीले केन्द्रीय सदस्यहरू तयव हुसेन र जगदीश कुसियैत सँग अन्य कार्यपालिका सदस्य र वडाध्यक्षहरूलाई भेट गराएका थिए ।
एमाले नगर कमिटीको निर्णय विपरीत बजेट पास भएपछि वडाध्यक्षहरूको विषयमा अध्ययन गर्न छानबिन समिति गठन भयो । नगर कमिटी सचिव मदन कार्कीको संयोजकत्वमा गठित छानबिन समितिले बजेट पास गराउन सहयोग गर्ने वडाध्यक्षलाई स्पष्टीकरण सोध्यो । जवाफमा अन्य वडाध्यक्षहरूले चौधरी र आचार्यको कारण आफूहरू लहैलहैमा परेको जवाफ फर्काए । केन्द्रीय नेतृत्वको प्रभाव र दबाबमा परेर बजेट पास गराउन सहयोग गरेको उनीहरूले स्पष्टीकरण दिएको एक नेताले जानकारी दिए ।
मुख्य भूमिकामा देखिएका चौधरी र आचार्यले भने स्पष्टीकरण दिएका छैनन् । यसअघि माथिल्लो कमिटीमै कुरा भइसकेको भन्दै दुई नेताहरूले स्पष्टीकरण दिन अटेर गरेका छन् । छानबिन समितिले प्रतिवेदन तयार पारिरहेको अवस्थामा दुई वडाध्यक्षलाई कारबाहीको सिफारिस गर्न सक्ने समितिका एक सदस्यले बताए ।
साउन २ गते सचिव कार्कीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको थियो । लोचन पौडेल, अवद्धेश चौधरी, बलबहादुर मगर र अनिता निरौला सदस्य रहेको समितिको आमन्त्रित सदस्यमा अधिवक्ता भीम सुवेदी (सागर) छन् । समितिले पहिलो चरणको छानबिन सकिसकेको र प्रतिवेदन तयार हुने क्रममा रहेको संयोजक कार्कीले बताए ।
उपमेयर सङ्गीता चौधरी सहित केन्द्रीय सदस्य तथा इटहरी इन्चार्ज भगवती चौधरी र अर्की केन्द्रीय सदस्य अमृता सुब्बा सहित जिल्ला उपसचिव यामकुमार सुब्बा, नगर अध्यक्ष रुपेश बस्नेतको टोलीले पहिलो पटक महासचिवलाई भेट गरेको हो । सोही टोलीमा रहेका कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडा नम्बर १०, ३, ७ र १५ का वडा अध्यक्षहरूले महासचिवलाई भेटेर बजेटको विषयमा ध्यानाकर्षण गराएको हो ।
त्यसपछि सुनसरी इन्चार्ज रहेको शेरधन राई सहितको छलफलमा नगर कमिटीले छानबिन गर्ने सहमति भएको थियो । सोही अनुसार अगाडी बढेको नगर कमिटीलाई दुई वडाध्यक्षले अटेरी गरेका हुन् ।