धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाडजोर्नी, नशा तथा मेरुदण्डका एसोसिएट प्रोफेसर डा. रोशन कलवारलाई प्रतिष्ठानको नियम उल्लङ्घन हुने गतिविधि गरेकोमा २ महिना निलम्बित गरिएको छ ।

प्रतिष्ठानको असोज २ गते बसेको पदाधिकारी बैठकले असोज ८ गतेदेखि निलम्बन हुने गरी २ महिनाका लागि उनलाई आन्तरिक कारबाही गरेको हो ।

असोज ६ गते प्रतिष्ठानका रजिष्टार सूर्यप्रसाद सङ्ग्रौलाले निलम्बन गरिएको भनी पत्राचार गरेका हुन । पत्रमा वीपी प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०।२६ को उपनियम ४ बमोजिम ‘कुनै शिक्षक कर्मचारीले आफ्नो कार्यालय सम्बन्धी काम बाहेक प्राइभेट प्राक्टिस, ट्युसन र अन्य कुनै प्रकारको वैतनिक वा अवैतनिक काम गर्नु हुँदैन’ भनी स्मरण गराइएको छ ।

उक्त ‘नियमको बर्खिलाप हुने गरी कार्य गरेकोले सोही नियमावलीको नियम १०।७ को उपनियम २ को (क) र (ङ) बमोजिमको कसूर गरेको देखिएको हुँदा तपाईँलाई यही नियमावली, २०५५ को नियम १०.७ उपनियम १ बमोजिम कारबाहीको अन्तिम टुङ्गो नलागुन्जेल सम्मको लागि सोही नियमावली, २०५५ को नियम १०.७ को उपनियम ४ को (ख) र उपनियम ८ को व्यवस्था बमोजिम मिति २०८१ असोज ८ गतेदेखि लागू हुने गरी दुई महिनाको लागि निलम्बन गरिएको’ पत्रमा उल्लेख छ ।

रजिष्टार सङ्ग्रौलाले भने ‘प्रतिष्ठानको ऐन नियम र हित विपरीत काम गर्नेलाई प्रतिष्ठानको नियमावली अनुसार  कारबाही गरिएको हो ।’ 

प्रतिष्ठानको ऐन नियम विपरीत काम गर्ने पदाधिकारी  होस या कर्मचारी शिक्षक विद्यार्थी जो सुकैलाई पनि कारबाही हुने उनले बताए । डा.कलवारलाई गरिएको कारबाही प्रतिष्ठानलाई सफा गर्न आन्तरिक कार्यवाही गरिने र प्रतिष्ठानको हित विपरीत काम छुट कसैलाई पनि नभएको उदाहरण भएको उनको भनाई छ ।

डा. कलवारले प्रतिष्ठानको नियमावली उल्लङ्घन गर्दै प्रतिष्ठानको काम बाहेक प्राइभेट प्राक्टिस, मेडिकल व्यापार गर्दै आएका छन् । उनले बिपीको ऐन नियम विपरीत प्रतिष्ठानमा जागिर खादै गेट बाहिर मेडिकलको व्यापार गर्न क्लिनिक खोलेका थिए ।

बिपीमा आएका बिरामीलाई आफ्नो क्लिनिकमा बोलाएर उपचार गर्ने मेडिकल सामाग्री खरिद गर्न लगाउने समेत गर्दै आएको आरोप उनी माथि लाग्दै आएको थियो ।

उनले वीपी प्रतिष्ठानमा विदेशी दातृ संस्थाले निःशुल्क प्रत्यारोपण गर्न दिएको ‘साइन नेल’ स्टोरमा दाखिला नगरी व्यक्तिगत पसलमा राखेर बिरामीसँग रकम लिएर आफै अपरेसन गर्ने भन्दै विक्री समेत गरेका थिए ।

उक्त अभियोगका बारेमा डा. कलवारलाई यस अघि पनि छानबिन समितिले दोषी प्रमाणित गर्दै ३ महिना कारबाही गरेको  थियो । उनको बढुवाको प्रक्रिया समेत प्रतिष्ठानले रोक्का समेत गरेको छ ।