धरान : हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान-१५ का विद्यार्थीसँग स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसले शैक्षिक ज्ञान सम्बन्धी अनुभव सुनाएका छन् ।

शिक्षक डेभिस र हिबिस्कसका विद्यार्थीहरूले मङ्गलवार विद्यार्थीहरूसँग स्कुले पठनपाठन बारे अन्तरक्रिया गरेका हुन ।

डेभिस स्विट्जरल्याण्डमा ४२ वर्ष शिक्षण पेसामा रही अवकाश ग्रहण गरेका शिक्षक हुन । धरान आएका बेला नेपाली विद्यार्थीहरूसँग शैक्षिक अभ्यासलाई अभ्यस्त राख्न उनले अन्तरक्रिया गरेको बताए ।

डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति, संस्कार, संस्कृति, भूगोल, हावापानी, राजनीतिक, आर्थिक परिबेशको बारेमा आफ्नो अनुभव सुनाए । उनले केही समय धरानमै बसेर स्कुलमा स्वयंसेवी शिक्षण गर्ने गराउने बताएका छन् ।

उनले ससुराली आएको बेला खाली समय स्कुलका विद्यार्थीलाई दिने बताए । शिक्षक जेन डेभिस धरानका ज्वाइँ हुन । उनको श्रीमती धरान-१५ की उषा जक्के हुन ।

उनलाई हिबिस्कसका विद्यार्थीहरूले नेपाल र नेपालीको संस्कार, संस्कृति, चाडपर्व, भूगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक जानकारी दिए ।

नेपालको राष्ट्रिय झण्डा युनिक रहेको शिक्षक डेभिसले बताए । दुवै देशबिच धेरै कुरामा समानता रहेको उनको भनाई छ । कक्षा ९ की छात्रा फुङ्निमा लिम्बुले नेपालीको संस्कार, संस्कृति सुनाउन पाएको धेरै खुसी लागेको बताइन् ।

छात्रा निवाप्रेमि लिम्बुले नेपालको बारे सुनाउँदा शिक्षक डेभिसले निक्कै चाख दिएर सुनेको बताइन् । बिद्यार्थीहरुले डेभिसलाई नेपालको राष्ट्रिय गान गाएर सुनाए ।

स्कुलका निर्देशक गङ्गाराम कुलुङका अनुसार स्विट्जरल्याण्डको शिक्षण पद्धति सुनेर बिद्यार्थीहरुले केही नयाँ कुराहरू सिकुन् भनेर अन्तरक्रिया आयोजना गरिएको बताए ।