धरान : युटुवमा एक करोड दर्शक पाएका भारत कालेबुङका गायक अनमोल गुरुङले धरानका युवा सङ्गीतप्रेमीहरु माझ सर्वाधिक लोकप्रिय गीत ‘साँझ परेपछि नि लैलै’ सहित गायन आज सोमवार साँझ धरान–१५ बगरकोटको महोत्सवमा प्रस्तुत गर्ने भएका छन् ।

उनका हजारौँ रहर लगायतका गीतहरूले समेत युटुवमा करोडौँ दर्शकले हेरेका र सुनेका छन् । एउटै पिरती लगायत दर्जनौँ चर्चित गीतका गायक गुरुङलाई धरानमा सुन्ने अवसर साँझ ८ बजे महोत्सवले जुटाएको छ ।

नेचर क्लव धरानले गायक गुरुङलाई धरान ल्याइएको क्लवका अध्यक्ष कृष्ण राईले बताए । कालेबुङ भारत भएर पनि नेपाली गीत सङ्गीतमा गरेको योगदान नेपाली सङ्गीतका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाई छ ।

महोत्सवमा क्लवले मंगलबार फिचरिङ एण्ड गुड बोइज ब्याण्डका समिर श्रेष्ठ र बुधवार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागेको महोत्सव संयोजक दिपचन्द्र राई कान्छीले बताए ।