धरान : येले सम्वत ५०५८ नयाँ वर्षको पहिलो दिन माघे संक्रान्तिमा लिम्बू समुदायले कक्फेक्वा तङनाम मनाउँदै धरान-१९ बालक चौकमा निर्मित आस्थाको प्रतीक सिलामसाक्मा र च्याब्रुङ बाजाको प्रतिमा अनावरण गरिएको छ । 

लिम्बू संस्कृतिमा सिलामसाक्मा मृत्युलाई छेक्ने आस्थाको प्रतीक मुन्धुमी यन्त्र मानिन्छ । बाँसको सिन्कामा सादा तथा रङ्गिन धागो बुनेर बनाइने सिलामसाक्मा चिन्ह किरात याक्थुङ चुम्लुङको विधानमा संस्थाको लोगो अङ्कित छ ।

च्याब्रुङ  लिम्बू जातिको शुभ कार्यमा सामूहिक नृत्य सहित बजाइने बाजा हो । परापूर्व कालदेखि प्रायः विवाह, नयाँ गृह प्रवेश लगायत शुभकार्यको अवसरमा के-लाङ नाचिन्छ । सङ्गीतको दुनियाँमा च्याब्रुङको ध्वनि अद्वितीय मानिन्छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले चुम्लुङ धरान-१९ वडा समितिद्वारा आज मङ्गलवार आयोजित वृहत् समारोह बिच उक्त प्रतिमाको अनावरण गरेका हुन । उनले सिलामसाक्माले मृत्यु मात्र होइन इतिहास, भाषा लिपि संस्कृतिलाई पनि बचाउँदै लिम्बू जातिलाई नमासिने समुदाय बनाएको बताए ।

सडक सतहबाट १५ फिट अग्लो प्रतिमा फलामको सिलामसाक्मामा बाँधिएको च्याब्रुङको रूपमा रहेको छ । च्याब्रुङ भने फाइबरले बनाइएको हो । सिलामसाक्माको चारकुनाको व्यास ४/४ फिटको रहेको छ । च्याब्रुङको गोलाई १६ इन्च र लम्बाई २८ इन्चको छ । प्रतिमा धरान-१३ स्थित फाइबर उद्योगमा बनाइएको हो ।

प्रतिमा निर्माण र स्थापना गर्दा कुल ८ लाख ४५ हजार रुपैयाँ खर्च भएको अनावरण समारोहमा निर्माण समितिकी कोषाध्यक्ष जायत्रा तेयुङ लिम्बूले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिमा स्थापना गर्दा सडक छेउको ढलमा स्लाब निर्माण गर्न समितिको २ लाख २५ हजार रुपैयाँ खर्च भएकाले छ । 

प्रतिमा निर्माण र स्थापना गर्न कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भएको छैन । तर दाताहरूबाट कुल रकम १६ लाख ८६ हजार ६६५ रुपैयाँ सङ्कलन भएको छ । निर्माण कार्यमा खर्च भई समितिसँग कुल ६ लाख ५७ हजार १६५ रुपैयाँ बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त रकम कुल १२९ जना दाताहरूबाट सङ्कलन भएको हो । ती मध्ये ११९ जना वडाबासी तथा विदेशमा भए, वडा बाहिरको दाताहरू छन् । बाँकी किरात याक्थुङ चुम्लुङ धरान र सुनसरी समितिका दाताहरू रहेको प्रतिवेदनमा छ ।

प्रतिवेदनमा समितिसँग मौज्दात रहेको रकमबाट हरियाली सामुदायिक बनमा अर्को सिलामसाक्माको प्रतिमा तथा थप सहयोगबाट वरिपरि मासि बस्ने चौतारा निर्माण गर्ने योजना रहेको बताइएको छ ।

निर्माण समितिका संयोजक देउमान ताप्मादेनले दाताहरूको उत्साहपूर्ण सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्रतिमाको स्थापनाले लिम्बू संस्कृतिको इतिहासलाई स्थापित गर्दै पहिचानको आन्दोलनलाई बल पुर्‍याएको विश्वास व्यक्त गरे ।

चुम्लुङ वडा अध्यक्ष प्रेम इधिङगोको सभापतित्वमा भएको समारोह सचिव बसन्ती थेबेले सञ्चालन गरेकी थिइन् । सोही अवसरमा दाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । समारोहमा चुम्लुङ केन्द्रीय समिति, जिल्ला र नगर समितिका पदाधिकारी, धरान ११, १५, १९ र २० का वडा अध्यक्षहरूको विशेष उपस्थिति थियो ।