विराटनगर : विराटनगरका सहकारीलाई बचतकर्ताप्रति जिम्मेवार तथा उत्तरदायी बनाउन महानगरपालिकाले सञ्चालक र पदाधिकारीलाई नेतृत्व तथा व्यवस्थापन सम्बन्धी २ दिने तालिम सुरु गरेको छ ।
विराटनगरका ३० वटा सहकारीका सञ्चालक र पदाधिकारी समेत ६० जना कार्यशालामा सहभागी छन् । महानगरमा १७२ वटा सहकारी सञ्चालनमा छन् ।

उनीहरूलाई कार्यशालामा सहकारी व्यवसायको परिचय, आन्तरिक नियन्त्रण प्रणाली, नेतृत्व विकास, विधि निर्माण प्रक्रिया, स्वः व्यवस्थापन, सकारात्मक सोच र सदाचारिता, कोपोमिसमा प्रविष्टि गर्नुपर्ने विषयहरू, वर्तमान अवस्था, चुनौती र समाधान, सहकारीमा अभिलेख व्यवस्थापन र सफ्टवेयरको प्रयोगका बारे अनुशिक्षण दिइने छ ।
मेयर नागेश कोइरालाले कार्यशालाको उद्घाटन गर्दै केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताए । सहकारीको रकम अन्य अनुत्पादक क्षेत्रमा लगानी गर्दा बचतकर्ताको पैसा डुबेको उनको भनाई थियो ।
उनले भने ‘अधिकांश सहकारीहरू राम्ररी चलेका छन्, तर केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको पनि बदनाम भइरहेको छ ।’
बचतकर्ताले जम्मा गरेको पैसा सञ्चालकहरूले घरजग्गा र गाडीलगायतका व्यक्तिगत कामका लागि प्रयोग गर्दा अहिलेको अवस्था आएको हो भन्ने उनको भनाई थियो ।
मेयर कोइरालाले महानगरमा सञ्चालित सहकारीको नियमन र अनुगमन भइरहेको जानकारी दिँदै सहकारीको मर्म र भावनाअनुसार सञ्चालन गर्न आग्रह गरे ।