धरान :  मुक्कुमलुङमा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षले गरेको यातायात बन्द फिर्ता लिएका छन् ।

सरकार पक्षसँग भएको सम्झौता सँगै धरानमा पक्राउ परेका ६ नेता कार्यकर्तालाई ईलाका प्रहरी कार्यालयले  रिहा गरेको हो । पक्राउ परेका जनता समाजवादी पार्टीका नेता सुमन चेम्जोङ सहित ६ जनालाई मङ्गलवार राति ११ बजे रिहा   गरेपछि भानु चोकमा अबिर जात्रा गरिएको छ ।

भने धरानका मुक्कुमलुङ आन्दोलनकारीहरू १५८ जनाले दिएको सामूहिक गिरफ्तारी समेत फिर्ता लिएका छन् ।

केबलकार निर्माणको काम स्थगन गर्नुपर्ने मागसहित गरिएको यातायात बन्दसहितका विभिन्न आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।

गृह मन्त्रालयबाट गठित वार्ता टोली र नो केबलकार समूहका प्रतिनिधिहरूबिच मङ्गलवार भएको वार्ताका क्रममा आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो ।

निर्णयअनुसार केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने, सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने सहमति भएको छ ।

यसै गरी २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको विना सर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने, मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चित कालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।

मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११ः०० बजे वार्तामा बस्ने सहमति भएको हो ।

f91b1164-eb4e-4d8c-9b53-e686cec349e2