धरान : धरानको खानेपानीको विषयलाई लिएर धेरै फोहोरी राजनीति भएको तर यहाँका जनप्रतिनिधि समाधानप्रति गम्भीर नभएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
उनले धरानमा खानेपानी समस्यामा धरै राजनीति गर्न नहुने बताउँदै भने ‘अब प्रदेश सरकारको समन्वयमा धरानको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ ।’

शिक्षा सदन माविको ६९ औ वार्षिकोत्सवमा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले भने ‘दीर्घकालीन समस्या समाधान गर्ने उपाय ‘लिफ्टिङ सिस्टम’ हो ।’
उनले धरानवासीलाई ढुक्क रहन आग्रह गर्दै प्रदेश सरकार खानेपानी समस्यामा चिन्तित रहेकोले दीर्घकालीन समस्या समाधान गर्न प्रदेश सरकारले काम थालिसकेको बताए ।
तर स्थानीय सरकारको नीतिगत अस्पष्टता, कार्यविधि, प्रविधि र प्रक्रियाको कारण र कर्मचारीको अल्छीपन, ढिलासुस्तीका कारण समस्या समाधान गर्न ढिलो भएको उनको भनाई थियो । तैपनि २ वर्ष भित्र खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने दाबी मुख्यमन्त्रीले गरे ।
सङ्घीय सरकार खानेपानी मन्त्रालय र प्रदेश सरकार खानेपानी मन्त्रालयबाट प्रक्रिया सुरु भएकोले यथाशीघ्र समाधान हुने मुख्यमन्त्रीको भनाई थियो ।
मुख्यमन्त्री कार्कीले भने ‘तत्काल धराने जनतालाई राहत दिन ४ वटा डिप बोरिङको लागि प्रदेश सरकाले निर्णय गरी डिप बोरिङ भैसकेको छ ।’
धरान शिक्षा, स्वास्थ्यको हब र पर्यटनको गेट वे भएकाले डिप बोरिङले मात्र खानेपानी समस्या समाधान नहुने भएकोले लिफ्टिङ सिस्टम नै दीर्घकालीन समाधानको उपाय भएको उनले बताए ।
पूनःनामाकरणको बारेमा वार्ता हुन्छ
मुख्यमन्त्री कार्कीले पहिचानवादीहरूको आन्दोलनलाई वार्ताको टेबलमा ल्याउने बताउँदै पुनः नामकरणको विषयमा आन्दोलनरत पक्षसँग वार्ता छलफलबाट समस्याको समाधान गर्ने प्रतिबद्धता प्रकट गरे ।
मुख्यमन्त्री कार्कीले आजकै दिन फागुन १७ गते कोशी प्रदेश नामकरण भएको स्मरण गराउँदै भने ‘७ वटा प्रदेश मध्ये १ प्रदेशको मात्र नामकरण गर्न बाँकी भएकाले २ वर्ष अगाडी ८९ भन्दा बढी सांसदहरूबाट नामकरण भएको थियो ।’
उनले भने ‘नामकरणको विषयमा पहिचानवादी आन्दोलनरत पक्षहरूले नामकरणको विरोध गरिरहनु भएको छ, प्रदेश सरकार आन्दोलनरत पक्षहरूसँग वार्ता छलफल गर्न तयार छ ।’
आन्दोलनरत पक्षहरूसँग वार्ता छलफलबाट चाडै समस्याको समाधान गरी प्रदेश नामकरणको विषय टुङ्गोमा पुर्याउन आफू तत्पर रहेको मुख्यमन्त्री कार्कीले बताए ।
सामुदायिक स्कुलमा सरकारी लगानी
मुख्यमन्त्री कार्कीले सामुदायिक स्कुलमा सरकारले ठुलो गरेको बताउँदै विद्यालयमा गरिएको लगानीलाई ध्यानमा राखेर सामुदायिक स्कुलहरूले उत्कृष्ट रिजल्ट ल्याउन अग्रसर हुनुपर्ने आग्रह गरे ।
स्कुलले मात्र एक्लै स्कुलको नाम प्रतिष्ठा बढाउन नसक्ने भएकाले प्रदेश सरकार स्कुललाई यथेष्ट सहयोग गर्न रहेको उनले बताए । उनले शिक्षा सदन स्कुलले अङ्ग्रेजी माध्यमका विद्यार्थीलाई सुलभ र निःशुल्क पठन पाठन गराएकोमा खुसी रहेको बताए ।
सदन स्कुलमा १२ सय विद्यार्थी छन् । वार्षिकोत्सवमा ५९३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्मका १५६ दलित र ३९८ जना छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । स्कुलमा रहेको ट्रष्टबाट ३९ जेहेन्दार विद्यार्थीहरूलाई नगद १० हजार प्रदान गरिएको छ ।
कोशी प्रदेश सभा सदस्य विजय राई, यशोदा कायस्थ सहितको उपस्थिति रहेको समारोहको सभापतित्व व्यवस्थापन अध्यक्ष अम्बिका सम्बाहाम्फेले गरेका थिए । प्रधानाध्यापक अमर बस्नेतले स्वागत गरेका थिए ।