वराहक्षेत्र : नवौँ स्थापना दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । मङ्गलवार बिहान नगरपालिकाले कार्यालय परिसरमा रक्तदान आयोजना गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ८६ पिन्ट रगत सङ्कलन भएको थियो । 'रक्तदान जीवनदान' भन्ने मूल मन्त्रलाई आत्म साथ गर्दै रगतको अभावलाई समाधान र मानव सेवाका लागि रक्तदान गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

नगर प्रमुख कार्की रमेश कार्कीका अनुसार नगरपालिकाले स्थापना दिवस र संविधान दिवसको अवसर पारेर वर्षमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
२०७३ फाल्गुन २७ गते साबिकका वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समिति मिलेर वराहक्षेत्र नगरपालिकाको स्थापना भएको थियो । नगरपालिका घोषणा भएको अवसरलाई उत्सवको रूपमा लिएर नवौँ स्थापना दिवस मनाउने निर्णय गरिएको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताए ।
स्थापना दिवसको अवसरमा २६, २७ र २८ गते साँझ नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा दीप प्रज्वलन कार्यक्रमसँगै सोमवार सरसफाइ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । त्यस्तै २८ गते नगर स्तरीय खुल्ला रोड रेस प्रतियोगिता आयोजना हुनेछ ।