धरान : धरानमा गत: माघ २६ देखी फागुन १० सम्म १५ दिन चलेको ‘बिजनेस एक्स्पो २०८१’मा कुल ५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजक नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले जनाएको छ ।
महासङ्घ धरानद्वारा आज बिहीबार एक्स्पोको आयव्यय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शिवराज श्रेष्ठले भने ‘एक्स्पो धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सफल भएको पाएका छौँ ।’

एक्स्पोमा किनमेलको मुख्य आकर्षण जुत्ता चप्पल मेला थियो । विश्वव्यापी मन्दीका कारण स्थानीय उद्योग, व्यापारमा शिथिलता आएको बेला धरानको उपभोक्तामुखी आर्थिक गतिविधिलाई चलायमान बनाउन आयोजना गरिएको एक्स्पो आफ्नो उद्देश्यमा सफल भएको उनले बताए ।
धरान उत्सव, व्यापार मेला, बुढासुब्बा फुटबल लगायतको निरन्तर मेला महोत्सव चलिरहेको बिचमा भएको एक्स्पो नाफामा रहनु महासङ्घको लागि उपलब्धिपूर्ण भएको उनको भनाई छ ।
एक्स्पो आयोजनाका लागि सङ्कलित सहयोग रकम ६९ लाख ३२ हजार ५७० रुपैयाँ आय भएकोमा खर्च कटाएर कुल २ लाख ५८ हजार ८८५ रुपैयाँ बचत भएको आयव्यय पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।
आयमा सबैभन्दा बढी गेट टिकटबाट कुल ३१ लाख ४९ हजार ५७० रुपैयाँ सङ्कलन भएको थियो । प्रदेश सरकारबाट १० लाख, स्टल भाडाबाट ५ लाख ७२ हजार, रोटे पिङबाट २ लाख सङ्कलन भएको थियो ।
सहयोग स्वरूप उद्योग वाणिज्य आपूर्ति मन्त्रालयबाट ३ लाख ५० हजार, ग्लोबल आइएमई बैङ्कबाट ३ लाख, गोर्खा ब्रुअरी २ लाख, उद्योग व्यवसायी महासङ्घ २ लाख, सिल्भर ओकबाट १ लाख ५० हजार, र नेपाल पर्यटन बोर्ड, रमपम, सेञ्चुरी, पिएलओ, डिभाइन वाइनबाट १/१ लाख रुपैयाँ प्राप्त भएको थियो ।
खर्चमा सबै भन्दा बढी साङ्गीतिक/सांस्कृतिक कार्यक्रममा कुल ४२ लाख ४१ हजार ५०० सय रुपैयाँ भएको छ । अध्यक्ष श्रेष्ठका अनुसार उक्त खर्च साङ्गीतिक प्रस्तुतिका लागि गायक कलाकारहरूलाई भुक्तान गरिएको परिश्रमिक र आतेजाते भाडामा भएको हो ।
एक्स्पोको आयोजना बापत स्थानीय सरकार सहितलाई कुल राजश्व ५ लाख ४२ हजार ५०० रुपैयाँ गरिएको छ । विद्युत् खर्च १ लाख ११ हजार ६२५ रुपैयाँ भएको छ भने विद्युत् अनियमितता हुने जोखिमका कारण सञ्चालन गरिएको डिजेल जेनेरेटरमा २ लाख ३ हजार २६७ रुपैयाँ खर्च भएको छ ।
पत्रकार सम्मेलनमा एक्स्पोका मूल संयोजक राजेश अग्रवालले एक्स्पोको सफलताले महासङ्घलाई पुनः व्यापार उत्सव आयोजना गर्न उत्साहित गरेको बताए । उपाध्यक्ष टङ्ककुमार गुरुङ पहिलो पटक आयोजना गरिएको एक्स्पोबाट धेरै अनुभव हासिल भएको बताइन् ।
आयव्ययको विवरण निम्न अनुसार छ :