धरान : धरानको आर्थिक गतिविधिलाई नयाँ गति दिँदै व्यवसायीक क्षेत्रमा लगानी आकर्षित गर्न २ साता लामो सांस्कृतिक, साङ्गीतिक कार्यक्रम सहितको ‘बिजनेस एक्स्पो धरान २०८१’ आयोजना हुँदै छ ।
एक्स्पो नेपाल उद्योग व्यवसायी महासङ्घ धरान नगर समितिले आयोजना गर्न लागेको हो । एक्स्पो धरान रङ्गशाला परिसरमा माघ २६ देखी फागुन १० गते सम्म सञ्चालन हुने आज सोमवार पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।
धरानमा सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गर्दै आएको एक्स्पो बाहेक यो छुट्टै पहिलो व्यापार मेला हो । अध्यक्ष श्रेष्ठका अनुसार सङ्घसँग संयुक्त रूपमा एक्स्पो आयोजना गर्ने प्रस्ताव गरिएको बताउँदै भने ‘सङ्घले अलि पछि आफ्नै एक्स्पोको तयारी भइरहेको बताएपछि महासङ्घले त्यस अघि आयोजना गर्ने निर्णय गरेको हो ।’
एक्सपोले धरानको आर्थिक गतिविधिमा आएको सुस्ततालाई नयाँ गति दिदैं व्यवसायीक, पर्यटन, उद्योगको क्षेत्रमा लगानीको उपयुक्त वातावरण सिर्जना गर्न भूमिका खेल्ने बताइएको छ । व्यापार मेलाले स्थानीय साना घरेलु, मझौला तथा ठुला उद्योग व्यवसायमा लगानीको सम्भावना बढाउने छ ।
अध्यक्ष श्रेष्ठका अनुसार एक्स्पोमा सहभागी हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक उत्पादक व्यवासायीहरुसंग अनुभव आदान प्रदान गरी धरानमा लगानी आकर्षित गर्न सकिने छ । उनले भने ‘लगानी सम्भावना स्थलको खोजीमा रहेकाहरू पहिचान गर्ने अवसरको रूपमा पनि एक्स्पोले उपलब्धि दिनेछ ।
एक्स्पोमा औद्योगिक प्रदर्शनी तथा खरिद विक्री हुनेछ । कृषि उत्पादनहरूको प्रदर्शनी एवं खरिद बिक्री हुनेछन् । गार्मेन्टका तयारी पोसाक, जुत्ता चप्पल, खेलौना, ज्वेलरीका उत्पादनहरूको विक्री तथा व्यवसायीक कारोबार हुनेछ ।
एक्स्पोमा निर्माण कार्य सम्बन्धी र कृषि औजारका सामाग्री, प्रविधि, उपकरण, इलेकट्रोनिक्सका सामाग्रीहरूको प्रदर्शनी तथा बिक्री हुनेछ । एक नगरपालिका एक उत्पादनका स्टलहरू रहनेछन् । आइटी तथा डिजिटल सूचना प्रविधि प्रदर्शनी तथा जानकारी दिइने व्यवस्था गरिने छ ।साथै उद्योग, व्यवसायको प्रवर्द्धनका लागि आर्थिक विश्लेषण कार्यशाला गोष्ठी, निकासी योग्य स्थानीय उत्पादन, वस्तुको प्रवर्द्धन विषयक उद्योगी, व्यवसायीहरूका लागि गोष्ठी आयोजना गरिने छ । एक्स्पोमा नयाँ प्रविधिका अटो मोबाइल प्रदर्शनी समेत हुनेछ ।एक्स्पोमा आउने सर्वसाधारण उपभोक्ताहरूको मनोरञ्जनका लागि दैनिक राष्ट्रिय कलाकारहरूका साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।
बालबालिकाका लागि बाल उद्यान र प्रतिभा प्रस्फुटनका कार्यक्रम सञ्चालन गरिने छ ।
धरानमा सञ्चालित कम्पनीहरू मार्फत प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लिङका साहसिक तथा रोमाञ्चक खेलाहरूका अग्रिम बुकिङको व्यवस्था हुनेछ । फ्लोर कल्चर तथा फुलहरूको प्रदर्शनी, बिरुवा विक्री, स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्री र जातीय मौलिक परिकारहरूका खानपिनको स्टलहरू रहने छ ।
व्यापार मेलका मूल संयोजक राजेश आग्रवलले एक्स्पोमा कुल स्टल ३५० को सङ्ख्यामा रहने बताए । उनका अनुसार एक्स्पोमा दुई साता भरीमा १० लाखको सङ्ख्यामा किनमेल, सांस्कृतिक कार्यक्रम दर्शकहरू आउने अनुमान गरिएको छ ।
एक्स्पोलाई सङ्घीय सरकारका मन्त्रालयहरू, कोशी प्रदेश सरकार, पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको सहयोग र प्रवर्द्धन रहने बताइएको छ । महासङ्घ नकपा एमाले निकट उद्योगी व्यवसायीको संस्था हो ।