इटहरी : नेकपा एमाले विराटनगर महानगर कमिटीमा नयाँ नेतृत्व निर्वाचित भएको छ । विनोद ढकाल लाइनको प्यानल विजयी हुँदा संस्थापन पक्षले हार बेहोरेको हो ।

ढकालका उम्मेदवार बलराम गिरी अध्यक्षमा विजयी हुँदा अन्य पदाधिकारी र सदस्य पनि सोही अनुसार निर्वाचित भए । कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, महानगर इन्चार्ज पर्शुराम बस्नेत लगायतले समर्थन गरेको टिम लज्जित बन्यो ।

३१४ प्रतिनिधि मध्ये ३०८ मत खसेकोमा गिरीले १७३ मत पाउँदा संस्थापन समूहका उम्मेदवार रोहित कोइरालाले १२१ मत पाए । उपाध्यक्षमा सुरज न्यौपानेले १४५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी राम पोख्रेलले १३६ मत प्राप्त गरे ।

सचिवमा ढकाल लाइनकै विज्ञान चापागाईँले अत्यधिक मत ल्याएर निर्वाचित भए । चापागाईँले १८३ मत ल्याउँदा निकटतम नवराज काफ्लेले १०४ मत मात्रै पाए ।

उपसचिवमा हमिद आजाद १७८ मत सहित विजयी हुँदा संस्थापन लाइनका चन्द्र शेखर विश्वासले ९८ मतमा चित्त बुझाए । महिला उपसचिवमा हिमा मैनाली पोखरेल निर्वाचित भएकी छन् ।

अधिवेशनमा समेत बढारिएको संस्थापन पक्षका लागि महानगर अधिवेशनले गम्भीर झट्का दिएको छ । जिल्ला र महानगर अधिवेशनको सफलताले  विनोद ढकाललाई स्थापित गरेको छ । जिल्ला अधिवेशनमा पनि ढकाल समूहकै अजम्बर राई नेतृत्वले पदाधिकारीमा क्लिन स्वीप गरेको थियो ।