धरान: जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागूपदार्थ ब्राउन सुगर विक्री गर्न भारतको दार्जिलिङबाट ताप्लेजुङ पुगेका एक युवक सहित २ जनालाई शनिवार पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार भारत दार्जिलिङका २३ वर्षीय नितेन वर्मनलाई  फुङलिङ–७ घर भई फुङलिङ–६ स्थित डेरा गरी बस्दै आएका २६ वर्षीय सुजन तामाङलाई ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
सुजनलाई उनको कोठामा खरिद विक्री हुने ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान सहित पक्राउ गरिएको हो । ब्राउन सुगर कारोबारमा संलग्न बर्मनलाई फुङलिङ–२ बाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यसै गरी इटहरी–१७ का २९ वर्षीय अविनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी नरसिंह टप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको छ ।
इटहरी–६ का २९ वर्षीय सन्तोष श्रेष्ठ र २९ वर्षीय जीवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
यसै गरी वराहक्षेत्र–१ बाट धनकुटा–९ का २१ वर्षीय लक्ष्मण माझीलाई प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटर साइकलमा १९ केजी गाँजा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।