धरान : धरान-१३ शिबधारामा सशस्त्र प्रहरीको टोलीले मालवाहक ट्रकमा २ हजार १३० केजी गाँजा पक्राउ गरेको छ । ट्रक चालक भने फरार भएका छन् ।
सशस्त्र प्रहरी बेस क्याम्प धरानका प्रहरी उपरीक्षक सञ्जीव पौडेलको टोलीले आज सोमवार धनकुटाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको मालवाहक ट्रक चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
शिव धाराबाट ट्रकसहित गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले पुष्टि गरेका छन् । 
उनका अनुसार ट्रकमा लुकाई ल्याएको ७० बोरा २१३० केजी गाँजा बरामद गरिएको हो । गाँजासँगै ३१ बोरा अदुवा र ६ बोरा बन्दा कोपी पनि बरामद गरिएको थापाले जानकारी दिए । तस्करहरूले अदुवा र बन्दा कोपी देखाएर ट्रकमा गाँजा लोड गरी ल्याएको उनको भनाई छ । 
गाँजा सहित पक्राउ गरिएको ट्रकका चालक भने फरार रहेका छन् । ट्रकको कागजपत्रका आधारमा गाँजा तस्करी गर्नेहरूको पहिचान गर्न टोली परिचालन गरिएको थापाले बताए । 
बरामद गरिएको गाँजा सहितको ट्रक सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाएको छ ।