उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर २ मा १ सय ३ जना अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
वडा नम्बर २ ले आफ्नो वडामा विभिन्न कारणले अपाङ्गता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य उपचार गराउनुका साथै परिचय पत्र पनि वितरण गरेको हो ।
विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई सेवा सुविधामा पहुँच स्थापित गर्न र सेवा सुविधाको योजना निर्माण गर्न सहयोग पुर्याउनु स्थानीय सरकारको दायित्व भएका कारण सो दायित्व पुरा गर्न वडाले विशेषज्ञ डाक्टरहरूको सहयोगमा उनीहरूको स्वास्थ्य परीक्षण गरी परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष राजन कुमार कँडेलले बताए ।
कार्यक्रममा पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र सामान्य अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरी परिचय पत्र वितरण गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि २००६ मा नेपाल सरकारले जनाएको प्रतिबद्धता बमोजिम अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताको आधारमा सेवा सुविधा उपलब्ध गराउनु पर्ने हुन्छ ।


































































