धरान : नेपालको पहिलो पवित्र तीर्थस्थल वराहक्षेत्रमा १०० करोड दीप प्रज्वलन सहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आगामी माघ १९ गतेदेखि सुरु हुने भएको छ।
श्री वैकुण्ठनाथ दिव्य धाम काठमाडौँ र लायन्स क्लब अफ काठमाडौँ हेरिटेज धरहराको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रमबारे शुक्रवार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
कोकाह नदी र कौसिकी नदीको सङ्गममा अवस्थित वराहक्षेत्रमा हुने महायज्ञ माघ १९ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।
आयोजक समितिका अनुसार महायज्ञमा देश–विदेशबाट लाखौँ भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।
समाजसेवी तथा धार्मिक अभियन्ता हरि महतले १०० करोड दीप प्रज्वलन विश्वकै दुर्लभ र ऐतिहासिक धार्मिक अभियान हुने बताए।
उनका अनुसार कार्यक्रममा प्रमुख संरक्षण अनन्त श्री विभूषित १००८ स्वामी भागवताचार्य महाराज रहनेछन्।
महायज्ञका कथा वाचक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त युवा विद्वान पण्डित दिनबन्धु पोखरेल  रहनेछन् भने महत स्वयं पनि विशेष भूमिकामा रहने भएका छन्।
कार्यक्रमका सेवा संयोजक रुकुम नेपालले भक्तजनलाई सहज तथा सुरक्षित सहभागिता सुनिश्चित गर्न आवश्यक पूर्वाधार र व्यवस्थापनका तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए।