धरान : अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्ड कप फुटबल यसपालि माघ २२ देखी फागुन २ गते सम्म सञ्चालन हुने भएको छ । यसपालिकाे गोल्डकप प्रतियोगिता २६औँ संस्करण हो ।
आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा गोल्डकपको तयारी तीव्र रूपमा भइरहेको बताए । २६औँ बुढासुब्बा गोल्डकपमा टिम सङ्ख्या बढाएर १० बनाइएको छ ।
यसअघि ८ वटा टिमबाट प्रतियोगिता सञ्चालन हुँदै आएकोमा विगतका अनुभवका आधारमा आगामी संस्करणमा सहभागी टिमको सङ्ख्या १२ सम्म पुर्याइने अध्यक्ष तामाङले बताए ।
पत्रकार सम्मेलनमा उपस्थित हङकङ धरान मञ्चका अध्यक्ष तथा अक्षय कोष परिकल्पनाकार प्रेम सुब्बाले क्लबको दीर्घकालीन आर्थिक स्थायित्वका लागि अक्षयकोष स्थापनाको प्रक्रिया अगाडी बढेको बताए । उनले भने ‘कोषको मुख्य उद्देश्य क्लबलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु हो ।’
अध्यक्ष तामाङले क्लबको आर्थिक पारदर्शितालाई प्राथमिकतामा राख्दै विगतका सबै आम्दानीखर्च र कारोबार स्पष्ट पारेर क्लबलाई सही आर्थिक ट्र्याकमा लैजाने प्रतिबद्धता जनाए ।
भविष्यको योजनाअन्तर्गत विभिन्न स्रोतबाट सङ्कलन हुने रकममार्फत अक्षयकोषको औपचारिक घोषणा गरिने र त्यसपछि मात्र सहयोगी सङ्घ संस्थासँग सहकार्यको रणनीति अघि बढाइने बताइएको छ ।
प्रतियोगिताकाको विजेताको १० लाख उपविजेता को ५ लाख नगद पुरस्कार धरान उपमहानगरपालिकाले प्रयोजन गर्ने भएको छ । प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका, मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ ।
यसपालि तर्जुमा गरिएको बजेटमा धरान उपमहानगरपालिका १५ लाख, कोशी प्रदेश खेलकुद विकास बोर्ड १५ लाख, मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि १० लाख, सहप्रयोजक रेडबुल ५ लाख, अन्य प्रायोजक ५ लाख, विदेशी संघसंस्थाहरुको सहयोग २५ लाख, टिकट विक्री १५ लाख, स्थानीय सरकारी, गैरसरकारी सङ्घ संस्था एवं व्यक्तिहरूबाट सहयोग १० लाख, देव मोर्टस ३ लाख ५० हजार, सुनसरी टेक्निकल २ लाख, सुनसरी उद्योग वाणिज्य सङ्घ १ लाख, क्याटिन बिक्री ५० हजार आय हुने अनुमान गरिएको छ ।
यसपालि विशेष सहयोगी अरुण राई पोर्चुगल, काेशी प्रदेश सरकार,राष्ट्रिय खेलकुद परिषद् धरान युके हेल्पिङ हेण्ड्स, हङकङ नेपाली महासङ्घ, धरान ८ समाज हङकङ, धरान १७ समाज हङकङ, धरान यूथ एसोसिएसन हङकङ, धरान हेल्पिङ हेण्ड्स युएई, धरान बहराइन एकता समाज, अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, मकाउ लगायतका नेपालीहरूबाट सहयोग प्राप्त हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा कुल अनुमानित आय १ करोड ७ लाख रुपैयाँ छ । कुल खर्च ८७ लाख, १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसपालि सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाईज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्पु क्लब भुटान, जर्जियन क्लब भारत, एलए क्लब पोखरा, सात दोबाटो यूथ क्लब ललितपुर, प्लानिङ ब्वाईज क्लब काठमाडौँ, झापा ११ झापा, धरान फुटबल क्लब धरान रहने विज्ञप्तिमा उल्लेख छ ।
गोल्डकप विजेतालाई नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी नगद ३ लाख ५० हजार डियो स्कुटर० र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।
उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार राखिएको छ । सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार प्रदान गरिने छ ।