पाठेघर वा आङ खस्ने समस्या महिलामा देखिने जटिल समस्या हो । कलिलै उमेरमा विवाह गर्ने, असुरक्षित गर्भपतन गराउने, गर्भवती अवस्थामा भारी काम गर्ने र सुत्केरी अवस्थामा उचित स्याहार–सुसार पाउन नसकेका महिलामा यो समस्या बढी देखिन्छ ।
के हो आङ खस्ने समस्या ?
पाठेघरले आफ्नो ठाउँ छाडेर योनीमार्ग्तिर झर्नुलाई आङ खस्नु भनिन्छ । यो एक प्रजनन समस्या हो । पाठेघरलाई अड्याएर राख्ने मांसपेशी कमजोर हुँदा पाठेघर तल खस्ने प्रक्रिया सुरु हुन्छ । मांशपेसी कमजोर भएपछि पाठेघर मात्रै खस्दैन, यसको अघिल्तिर रहने पिसाब थैली र पछाडिको दिशाको थैलीसमेत योनीमार्ग हुँदै बाहिर निस्कन्छन् ।
कहाँ छ समस्या ?
पिउने पानीको समस्या र भारी काम गर्नुपर्ने पहाडी जिल्लाका महिलामा यो समस्या बढी देखिएको छ ।
तराईमा दलित, सीमान्तकृत, मुस्लिमलगायत पिछडिएका समुदायका महिलामा यो समस्या धेरै छ ।
आङ खस्ने कारण
१, कम उमेरमा विवाह, गरिबी, अशिक्षा, प्रजनन अंगबारे पूर्ण जानकार नहुँदा
२, ग्रामीण भेगमा छिटो-छिटो बच्चा जन्माउनु
३, गर्भवती अवस्थामा भारी सामान उचाल्नु
४, सुत्केरीमा उचित स्याहार–सुसार नपाउनु
लक्षण
१, योनीमा केही डल्लो खसेजस्तो हुने
२, पिसाब छिटोछिटो लाग्ने
३, दिशा नआउने
४, ढाड दुख्ने
उपचार
आङ खस्ने समस्याको अवस्था हेरेर यसको उपचार गरिन्छ । बच्चा जन्माउनुपर्नेछ भने पाठेघरलाई जोगाएर गुप्तांगमा रिङ पेसरीको माध्यमबाट झरेको पाठेघरलाई भित्रै अड्याउनुपर्छ । र, प्रत्येक तीन महिनामा रिङ पेसरी फेर्नुपर्छ ।
१, समस्या सामान्य छ भने चिकित्सकको सल्लाहमा सामान्य व्यायाम गर्ने
२, पाठेघरमा रिङ पेसरी राख्ने
३, पाठेघर योनीबाट बाहिरै निस्किसकेको भए शल्यक्रिया गर्ने
डा. जागेश्वर गौतम, स्त्रीरोग विशेषज्ञ, परोपकार प्रसूतिगृह, थापाथली -नयाँ पत्रिका दैनिकबाट


































































