धरान : अस्ट्रेलियास्थित एक्सपर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलर अर्थात् नेपाली एक करोड ५४ लाख ५० हजार रुपैयाँ बराबरको ‘कोभिड( १९ एक्सपर्ट सहयोग कोष’ घोषणा गरेको छ।
कोरोनाका कारण सकसमा परेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले यो कोषको घोषणा गरेको हो। सिड्नीमा मुख्यालय रहेको यो संस्थाले नेपालबाट अस्ट्रेलिया आएका विद्यार्थीलाई शैक्षिक तथा आप्रवासन सम्बन्धी परामर्श दिँदै आएको छ।
एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेजका निर्देशकहरुले स्थापना गरेको एक्सपर्ट फाउन्डेसन नामक च्यारिटी संस्थाले सहयोग कोष घोषणा गरेको हो ।
अहिले विश्वमा फैलिएको कोरोना भाइरसको महामारीबाट अस्ट्रेलियामा समस्यामा परेका विद्यार्थीहरुको सहयोगका लागि उक्त रकम खर्च गरिने एक्सपर्ट ग्रुपका डाइरेक्टर बद्रि अर्यालले बताए। सहयोग प्राप्त गर्न फाउन्डेसनले यही अप्रिल १५ देखि ३० सम्म आफ्नो वेबसाइटमा गएर नाम दर्ता गर्न सरोकारवाला विद्यार्थीहरुलाई अनुरोध गरेको छ।
फाउन्डेसनद्वारा आइतबार प्रकाशित वक्तव्यमा उक्त सहयोग अन्तर्गत कोषबाट प्रतिविद्यार्थी कम्तिमा पनि तीन सय अस्ट्रेलियन डलरको विशेष कार्ड प्रदान गरिने उल्लेख छ । यसबाट पाँच सय विद्यार्थीलाई अस्ट्रेलियामा कम्तिमा दुई महिनासम्म न्युनतम आधारभूत आवश्यकताको लागि खर्च पुग्ने बताइएको छ ।
विश्वका बिभिन्न मुलुकबाट एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज मार्फत गत अगस्ट १ यता अस्ट्रेलिया आई यहाँका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तर्रा्स्ट्रिय विद्यार्थीहरुप्रतिको आफ्नो पहिलो दायित्व तथा अभिभावकत्व भएकाले उक्त कोषबाट १ लाख ५० हजार अस्ट्रेलियन डलर उनीहरुका लागि छुट्याइने भनिएको छ ।
बाँकी ५० हजार अस्ट्रेलियन डलर अस्ट्रेलियामा नेपाली विद्यार्थीको हितमा क्रियाशील सामाजिक संघसंस्थाहरु मार्फत नै नेपाली विद्यार्थीलाई सहयोग गर्ने गरी विनियोजन गरिएको जानकारी दिइएको छ।


































































