पथरी : मोरङको पथरी शनिश्चरे नगरले पछिल्लो पटक खरिद गरी मातहतका स्वास्थ्य निकायमा उपलब्ध गराउने औषधिका बारेमा अनुगमन समितिले जानकारी लिएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोला, सदस्यहरू यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू, निर्मला गदाल, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल सहितको टोलीले स्वास्थ्य शाखासँग खरिद भएको औषधिको अवस्थाका बारेमा जानकारी लिई अनुगमन गरेको हो ।
नगरले आफ्नो मातहतको नगर अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत नगरवासीलाई निःशुल्क रूपमा प्रदान गर्न १९ लाख ७१ हजार ६ सय ६८ रुपैयाँको विभिन्न प्रकारका औषधि खरिद गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए ।