धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेसँगै चौतर्फी आलोचना हुन थालेको छ।
प्रतिष्ठानभित्र चरम लापरबाही, भ्रष्टाचार तथा बेथिति बढेपछि धरानका नागरिक समाजले नागरिक दबाब सञ्जाल गठन गरी प्रतिष्ठान सुधार अभियानमा लागेका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको बेथिति तथा भ्रष्टाचार अन्त्य गर्न गठित नागरिक दबाब सञ्जालले प्रतिष्ठानमा निरन्तर दबाबमूलक कार्यक्रम अगाडि सार्ने बताएको छ । यसै क्रममा सोमबार प्रतिष्ठानका पदाधिकारीहरुसंग बसेर छलफल गरेको थियो । छलफलमा केही निष्कर्ष ननिस्किने भएपछि पुन अर्को छलफल गर्ने भन्दै छलफल स्थगित गरिएको थियो ।
विगतमा समेत प्रतिष्ठानको बेथिति सुधारका लागि भन्दै गठन भएका समूहहरूले प्रतिष्ठानभित्र हुने गरेका बेथिति, भ्रष्टाचार लगायतका कुराहरू नियन्त्रण गर्ने भन्दै सुरु भएका आन्दोलनहरू बिचैमा तुहिने गरेको भए पनि यो समितिले भने प्रतिष्ठानभित्रको बेथिति, भ्रष्टाचार अन्त्य नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएको छ।
दबाब सञ्जालले धरानको सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानभित्र हुने गरेका बेथिति तथा भ्रष्टाचारलाई अन्त्य गर्न नागरिक दबाब सञ्जालले दबाबमूलक कार्यक्रमलाई अगाडि सार्ने जनाएको हो ।
दबाब सञ्जालका संयोजक प्रा. डा.राजेन्द्र शर्माले विगतमा पनि विभिन्न समिति गठन गरेर प्रतिष्ठान सुधारको अभियान अगाडि सार्दा समेत बेथिति अन्त्य नभएको बताए । उनले विगतका आन्दोलनबाट सुधारका सट्टा प्रतिष्ठानको सेवा सुविधा, बेथिति तथा भ्रष्टाचार झन् बढेर गएको बताउँदै यसका विरुद्ध अब आन्दोलनलाई निरन्तरता दिने बताए ।
उनले कमिसनको खेलकै कारण प्रतिष्ठानमा गुणस्तरीय स्वास्थ्य उपचार हुन नसकेको आरोप समेत लगाए । उनले प्रतिष्ठानले विभिन्न कम्पनीबाट कमिसन खाएर ल्याएका स्वास्थ्य सामाग्रीहरू गुणस्तरीय नहुने प्रतिष्ठानभित्र रहेका उपकरणहरू समेत गुणस्तरीय नभएको बताए ।
सञ्जालका सचिव हरिप्रसाद दाहालले बीपी लगायत धरानमा हुने गरेका अन्य गतिविधिको सूक्ष्म अध्ययन गरेर बेथिति अन्त्य गर्ने अभियानका साथ नागरिक दबाब सञ्जाल गठन गरिएको बताएका छन्। उनले धरानका हरेक क्षेत्रमा भएको विकृतिलाई यसले चिर्ने प्रयास गर्न गठन भएको सञ्जालले वर्तमान परिस्थितिमा पहिलो अभियान प्रतिष्ठानभित्र रहेको बेथितिविरुद्धमा अभियान चलाउने बताए ।
उनले पदाधिकारीबिचमै आर्थिक लेनदेनको विषयमा द्वन्द्व हुने गरेको लगायतका कुराहरू बाहिर आउन थालेपछि नागरिक दबाब सञ्जालमार्फत त्यसलाई चिर्नकै लागि आन्दोलनलाई निरन्तरता दिन लागेको बताए।
प्रतिष्ठान धरानको गहना भएको बताउँदै उनीहरूले यसलाई बचाउन जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताएका छन् । प्रतिष्ठानलाई कमाउ गर्ने थलोको रूपमा नलई सेवा भाव गर्ने संस्थाको रूपमा लिन उनीहरूले सुझाएका छन् ।


































































