धरान : धरानमा गत फागुन ११ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाई दोस्रो डोज छुट भएका व्यक्तिहरूका लागि आउँदो असार १ गते खोप लगाइने भएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज उपमहानगर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी कोभिशिल्ड लगाई दोस्रो डोज छुट भएका व्यक्तिहरूकालागि आउँदो असार १ गते खोप लगाउने जानकारी दिएको हो ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलवार) धरानको छाता चोकस्थित रहेको पुरानो हस्पिटलमा दोस्रो डोज छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइने जानकारी दिए।
उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजेसम्म कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइने भएको छ। पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखा प्रमुख मेहताले धरान उपमहानगरपालिका अन्तर्गतको विभिन्न खोप केन्द्रहरूबाट गत माघ १४ गतेदेखि फागुन ११ गते सम्ममा १ हजार ३ सय ६६ जना व्यक्तिलाई कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइएको जानकारी दिए ।
गत वैशाख ७ गतेदेखि जेठ ११ गते सम्म कोभिशिल्डको दोस्रो डोज खोप सञ्चालन भई अधिकांश व्यक्तिलाई दोस्रो डोजको खोप पुरा भएको थियो भने सो अवधिमा सञ्चालित भएको खोप कार्यक्रममा विभिन्न कारणले केही व्यक्तिहरू छुटेका थिए । उनीहरूलाई असार १ गते कोभिशिल्ड खोप लगाइने भएको हो ।
उपमहानगरपालिकाले गत फागुन २३ गते पछि कोभिशिल्डको पहिलो डोज लगाई दोस्रो डोज पर्खिरहेका व्यक्तिहरूका लागि नेपाल सरकारबाट खोप छिट्टै उपलब्ध गराउने तयारी गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । उपमहानगरपालिकामा खोप प्राप्त भएपछि धरानवासीलाई सूचना प्रचार गरी जानकारी गराउने पनि स्वास्थ्य महाशाखाले जनाएको छ ।


































































