इटहरी : तालाबन्दीको कारण विद्यार्थीहरूको वार्षिक नतिजा प्रकाशन गर्न असहज भएको शहिद आवासीय माध्यमिक विद्यालयका अध्यक्ष मणिराम गिरीले बताएका छन्।
विज्ञप्ति जारी गर्दै उनले विद्यार्थी एवं विद्यालयको भविष्यमा असर परेको खण्डमा त्यसको सम्पूर्ण जिम्मेवारी तालाबन्दी गर्ने र उक्साउनेले लिनुपर्ने बताएका हुन् ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम आफै तालाबन्दी गर्न लगाउने र उक्साउने काममा लाग्नुभएको उनको टिप्पणी छ। विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई वञ्चित गराउने जघन्य अपराधको भागिदार तालाबन्दी लगाउने र तिनलाई सहयोग गर्ने सहयोगीहरू हुनु पर्ने उनको ठहर छ । केही दिन अगाडी उपमेयर गौतमले आंशिक तालाबन्दी खोलेर विद्यालयको नियमित कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन विद्यालय पुगेकी थिइन ।
राजनीतिक चलखेलको आडमा सरकारी निकायले समेत गलत हर्कत र गलत कार्यमा संलग्नहरूलाई काखी च्याप्ने काम गरेको गिरी द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपमेयर गौतम र शिक्षा महाशाखाको उपस्थितिमा तालाबन्दी गरिनु निन्दनीय कार्य भएको गिरीले बताएका छन् । आफूहरूको धैर्यता र ईमान्दारितालाई कमजोर ठानी बारम्बार यस प्रवृत्तिको कार्य भइरहेको हुँदा यसको प्रतिकार गर्न बाध्य पारिनु वाञ्छनीय नहुने चेतावनी दिएका छन् ।
शहीदहरूका सन्तान, दश वर्षे युद्धमा बेपत्ता पारिएका घाइते, अपाङ्ग, द्वन्द्व पीडितका परिवारका सन्तान पढ्ने विद्यालयलाई राजनीतिक एवं व्यक्तिगत स्वार्थको खेल मैदान बनाइन खोज्नु किमार्थ स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गिरी माथि सहिद विद्यालयमा भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा एमाले ओली समूहको अनेरास्ववियुले तालाबन्दी गरेको छ । सङ्घर्ष समिति नै बनाएर एमाले निकट स्थानीयले आन्दोलन गरिरहेका छन् ।
उता गिरीले भने भ्रष्टाचार छानबिनमा सहयोग गर्ने भन्दै विद्यालयमा राजनीतिक चलखेल बढाउन नहुने तर्क गरेका छन्।
विज्ञप्तिमा उनले सङ्घर्ष समितिबाट लगाइएको ताला खोलिनुपर्ने, विद्यालयको रोक्का गरिएको बैङ्क खाता फुकुवा गरिनुपर्ने, विद्यालयको लागि आएको अनुदान तुरुन्तै निकासा गर्नुपर्ने, विद्यालयमा कुनै न कुनै प्रकारले गरिने दलीय हस्तक्षेप बन्द गर्नुपर्ने, विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरूलाई शान्ति सुरक्षा प्रदान गर्दै भय रहित वातावरण कायम हुनुपर्ने जस्ता माग राखेका राखेका छन् ।




































































