चतरा : बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को योजना अनुसार नगरका विपन्न परिवारहरूलाई दुहुना गाई वितरण गर्ने कार्यमा बिचौलिया हाबी भएको पाईएको छ।
बराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका शेरबहादुर खत्रीको आफ्नै गोठको गाईलाई अर्कै व्यक्तिले अनुदान लिने प्रक्रिया अगाडि बढे पछि बिचौलिया काण्ड बाहिर आएको हो। यस अगाडि पनि बराहक्षेत्र-९ मा जनप्रतिनिधिहरुले आफू निकट आसेपासे व्यक्तिलाई अनुदानको गाई वितरण भएको कुरा सार्वजनिक भएको थियो।
पुलाहाका खत्रीको गोठमा एउटा जर्सी गाई छ। त्यो गाई खत्रीले एक वर्ष अगाडि खरिद गरेर ल्याएका थिए। तर त्यो गाईको भर्खर नगरपालिकाको टोलीले बिमा समेत गरेको छ। गाईको कानमा १००१८ नम्बरको ट्याग लागेको छ । तर वैधानिक रूपमा त्यो गाई अरू नै कसैको नाममा बिमा भएको भेटिएको छ । फर्जी रूपमा गाई देखाएर अरूले नै नगरपालिकाको अनुदान लिने प्रक्रिया गरेको स्वयम् खत्रीले बताएका छन्।
उनकै छिमेकी बालकृष्ण विष्टको सल्लाह बमोजिम ५ हजारको प्रलोभन देखाएर बिमाको टोलीलाई आफ्नो गाई अरूकै भनेर अनुदान लिन प्रक्रिया अगाडि बढाएको शेरबहादुर खत्रीले बताए ।
उनले भने 'मेरो गोठको गाई मैले कसैलाई बेचेको पनि छैन, तर सरकारी रकम लिन अरूले प्रयोग गरे। गाई मेरो गोठमा छ, गाई मेलै गत वर्ष किनेको हो , गाई म पाल्दै छु तर मेरो गाई देखाएर अनुदान अरूले खाँदै छ । मेरो गाई देखाएर आएको अनुदान मैले नै अनुदान पाउनु पर्छ।'
यता गाई अनुदान पाउने किसानले रकम नपाएको र यस्तो भएको भए छानबिन गरिने पशु साशा अधिकृत विमल अधिकारीले बताए । कसैले अनुदानको रकम नपाएको र प्रक्रिया पूरा भएका मात्र परिवारले रकम पाउने तथा पुन अनुगमन गर्ने अधिकारीले बताए ।
वराहक्षेत्र ८ का वडाध्यक्ष फडिन्द्र भट्टराईले वडामा सर्जिबिन गरेर मात्र रकम उपलब्ध गराउने बताए । विभेद र अनियमितता वडामा हुन नदिने उनले दाबी गरे।


































































