झापा : झापाको बिर्तामोड नगरपालिकामा साउन १३ गते देखि १९ गते सम्म लकडाउन गर्ने निर्णय भएको छ।
कार्यपालिका सदस्य, व्यवसायी, प्रशासन, स्वास्थ्यकर्मी बिचको छलफलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन १३ गते बुधवार राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए।
अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने बैठकले निर्णय गरेको छ । सरकारी सङ्घ संस्था ,बैङ्क ,वित्तीय संस्था पनि बन्द गरिने जनाइएको छ । बिर्तामोड नगरपालिकामा कोरोना सङ्क्रमित हुनेहरू बढ्दै गएपछि नगरपालिका एक हप्ताको लागी सिल गर्ने निर्णय गरेको हो।
कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बिर्तामोड नगरपालिकाका छिमेकी पालिकाहरू धमाधम सिल गर्न थालिएको छ।
जिल्लाकै ठुलो व्यापारिक क्षेत्र बिर्तामोड नगरपालिकामा पनि कोरोना सङ्क्रमण नियन्त्रणका लागि थप रणनीति बनाउन दबाब बढिरहेका बेला नगरपालिकाले एक साताका लागि सिल गर्ने निर्णय गरेको हो । बिर्तामोड क्षेत्रमा पनि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ।