धरान : धरान १७ स्थित उदय समुदायीक वनमा रहेको कर्भडहल मर्मतसंभार हुने भएको छ ।

सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमुनाको रूपमा रहेको कर्भडहल निर्माण सम्पन्न भएको १३ वर्ष पछि मर्मतसंभार हुन लागेको हो ।

उदय सामुदायिक वनलाई खेलकुद पर्या पर्यटनमा विकास गर्ने उद्देश्यले कर्भडहललाई मर्मतसंभार गरेर स्तर उन्नति गर्न लागिएको उदय समुदायीक वन समूहका अध्यक्ष जसकुमार राईले जानकारी गराए । वातावरण सँग जोडिने र रुख बिरुवाहरू पनि नमासिने हुनाले वनलाई खेलकुद पर्या पर्यटन सँग जोड्न लागेको राईले बताए ।

कर्भडहलमा अहिले ब्याडमिन्टन, कराँते र हल बाहिर भलिवल र टेवलटेनिस खेलहरू हुने गरेको छ । चाडै बास्केटबल, भलिबल, खुला चेस बोर्ड, सेपाकटेक्रो, एक्सरसाइज , वाक र रनिङ गर्ने स्थल लगायतको निर्माण गर्ने योजना रहेको वन समूहका सचिव लहरुमाया जिमीले जानकारी गराए ।

उनका अनुसार यस योजनाले उपभोक्ता वन समुदायको सामाजिक उत्तरदायित्व पनि निर्वाह हुने, आसपास क्षेत्रको खेल विकास हुने, स्थानीय युवाहरूलाई खेल क्षेत्रमा आकर्षण गरी कुलतमा फस्न रोकिने र यसै माध्यमबाट वन उपभोक्ता समूहको आयस्रोतमा समेतमा टेवा पुग्नेछ ।

कर्भडहल मर्मत सम्भारका लागि शुक्रवार उदय वन उपभोक्ता समूहको कार्यालयमा भेलाको आयोजना गरी आर्थिक उपसमिति समेत निर्माण गरिएको छ । समूहका अध्यक्ष जसकुमार राईको संयोजकमा नौ जनाको उपसमिति वनेको छ ।

सचिवमा लहरुमाया जिमी, कोषाध्यक्ष मनोज विष्ट र सदस्यहरूमा नारद राई, विकास चाम्लिङ राई, रमेशचक्र खड्का, रामकुमार भट्टराई, अमित राई र उमेश भण्डारी रहेका छन् ।

समितिले वैशाख भित्रमा मर्मत सम्भारको कार्य सक्ने पहिलो बैठकबाट निर्णय गरेका छन् । कर्भडहल काठ काठले बनिएकोले यसलाई मक्किन नदिन तथा हलको आयु बढाउनलाई पहिलो प्राथमिकता बाहिरी र भित्री भागमा रंगरोगन गर्ने र टुटफुट भएकाहरूको मर्मत गर्ने जनाएको छ ।

यसको लागि करिब पाँच लाख रुपैयाँ लागत लाग्ने समितिका कोषाध्यक्ष मनोज विष्टले भेलालाई जानकारी गराए । अनुमानित लागत वन समूहका सदस्य, स्थानीय निकाय, धरान १७ नम्बर वडाका विभिन्न सङ्घसंस्था एवं इच्छुक सहयोगी जनसमुदायहरूबाट सङ्कलन गरिने समितिका कोषाध्यक्ष विष्टले जनाए ।

सोही भेलामा समितिका सदस्य नारद राई र कोषाध्यक्ष विष्टले नगद दश हजार रुपैयाँ समितिका संयोजक जसकुमार राई र सचिव लहरुमाया जिमीलाई सहयोग स्वरूप हस्तान्तरण गरेका थिए ।

Udaya-Samudayik-ban-1