इटहरी : नेपाल प्रेस युनियन सुनसरीको आयोजनामा १ दिने निःशुल्क फोटा पत्रकारिता तालीम सम्पन्न भएको छ।

इटहरीको पाथीभरा होटेलमा व्यावसायिक फोटा पत्रकारको स्तरोन्नतिको लागी तालीम आयोजना गरिएको हो। राष्ट्रिय फोटो पत्रकार समूह काठमाडौंसंगको सहकार्यमा ३० जना पत्रकारलाई तालीम प्रदान गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता मंगलबार कार्यक्रम सम्पन्न भएको हो।

प्रशिक्षक समेत रहेका वन्तका अनुसार कार्यक्रममा फोटा पत्रकारिताको महत्त्व, प्रकार र तरिकाको बारेमा प्रशिक्षित गराइएको छ । पछिल्लो समय फोटो तथा भिडियो मार्फत पत्रकारिताको क्षेत्र फराकिलो बन्दै गएको बताउँदै उनले फोटो खिचेरै पत्रकारितामा उत्कृष्टता देखाउन सकिने उनले बताए।

कार्यक्रममा सुरुमै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजीकरण गरेका थिए । प्रेस युनियनले यसअघि सुनसरीका पत्रकारहरूको कोरोना बिमा, दुर्घटना बिमा लगायत कार्यक्रम ल्याइसकेको छ। त्यस सहित कोरोना सङ्क्रमितको लागी मोबाइल डाक्टर सेवा देखी खाद्यान्न राहत तथा स्वास्थ्य सामग्री वितरण गरेको थियो।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्का, इक्वाल अहमद, प्रदेश सचिव सन्तोष यादव, नेपाल प्रेस युनियन प्रदेश सचिव धनबहादुर पुरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष गणेश निरौला तथा सचिव ध्रुव ढकालको उपस्थिति थियो ।