धरान : 'शिक्षाका निम्ति च्यारेटी दौड'भन्ने मूल नाराका साथ दसौँ धरान रन नेवा च्यारेटी १० के रनको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक धरान रनले आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो । धरान रन समूह १० वर्ष पुरा भएको गौरवमय अवसरमा धरान रन १० किमी रन प्रतियोगिता विगत भन्दा फरक र भव्य तरिकाले नेपालकै धेरै धावक धाविकाहरूको सहभागिता हुने बताइएको छ । 

यस पटक दसौँ संस्करणमा जनचेतनामूलक कार्यक्रम सहित पहिलो पल्ट व्हील चेयर रेस हुनेछ भने नेपालको राष्ट्रिय झण्डा बोकी विश्वभर नेपाललाई चिनाउने झण्डा अभियानकर्ता लक्ष्मीनारायण शिल्पकारको उपस्थिति हुनेछ । यसै गरी भारतको जल्पाईगुडीका सुन्दर जयसवालले धरान रनमा यस पटक खाली खुट्टा दौड गर्नेछन् । 

यस पटकको धरान रनमा ४ हजार बढी धावक धाविकाहरूले दौडने छन् भने खेलकुदको क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । धरान रनमा नेपाल, भारत, हङ्कङ, बेलायत, जर्मन, कतार आदि मुलुकबाट धावक धाविकाहरूको सहभागिता रहेको धरान रन समूहका अध्यक्ष रोमु राईले पत्रकार सम्मेलनमा जानकारी दिए । 

यसै गरी यस पटक पुरस्कार राशि पनि १० हजार वृद्धि गरी खुल्ला समूहमा प्रथम, दितिय र तृर्तिय हुने विजयी धावक धाविकाहरूलाई क्रमशः  ६० हजार, ५० हजार र ३० हजार प्रदान गरिनेछ । १२ वर्ष देखि मुनिका प्रथम द्वितीय तेस्रो हुने विजयी धावक धाविकालाई पुरस्कार राशि कमशः ७०००, .५०००, ३००० दिइने । १२ देखि १६ बर्ष  भित्रका प्रथम, द्वितीय, तेस्रो हुने धावक धाविकालाई जनही क्रमशः ७०००, ५०००, ३००० दिइनेछ ।

४० वर्ष देखि माथि भेट्रोन दौडमा प्रथम, द्वितीय, हुने विजयी धावक धाविकालाई जनही कमशः ७०००, ५०००, ३००० दिइनेछ । साथै ६० वर्ष माथिको धावक धाविकालाई पनि आकर्षक पुरस्कार दिइने जनाइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकधाविकाहरुको सहभागी हुने यस च्यारेटी प्रतियोगिताबाट सङ्कलित रकम अपाङ्ग असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष खडा गरी सहयोग गर्दै आएको छ । “प्रथम नेवाच्यारेटी ८ किमी रन २०६९ बाट सङ्कलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ २ लाख ५० हजार दिई किरात राई यायोक्खाको सहकार्यमा ४ लाखको अक्षयकोष खडा गरिएको छ । “दोस्रो नेवा च्यारेटी ८ किमी रन २०७० बाट संक्रमित  दुर्व्यसनी महिलाहरूको निम्ति दृष्टि नेपाल संस्थाको ह्याप्पी होमका लागि  १ लाख ७७ हजार सहयोग गरिएको थियो । 

यस पटकको रन लोकतान्त्रिक चौतारी भानु चौकबाट बिहान ठिक ७ बजे देखि सुरु भई पुतली लाइन, दुर्गा चोक, बुद्दचौक, रत्नचोक, मङ्गलवारे, कल्याणचौक, पानीटंकी, गणेशमानचौक, रंगशालाहुदै जिरो प्वाइन्ट, अमरहाट, रेडक्रस भवनहुदै हात्तीसार, विजयपुर चौक, पिण्डेश्वर मन्दिर, चिनियााचौक, पुरानो बजार देशीलाईन हुँदै पुन भानुचौकमा पुगेर  समापन हुनेछ ।