धरान : धरानमा तेस्रो अन्तर कर्मचारी मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद विकास समितिको संयोजनमा वडा नं. १३ स्थित सङ्घीय इकाई प्रहरी कार्यालयको ब्याडमिन्टन कोर्टमा सोमबारबाट सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । 

ब्याडमिन्टन प्रशिक्षक देवेन्द्र खड्काका अनुसार प्रतियोगिता तिन क्याटोगोरीमा खेलाइएको थियो । ब्वाईज डबलतर्फ रामकुमार माबो र कुमार राई प्रथम, किशोर अधिकारी र सत्यनारायण राई द्धितिय, राजेन्द्र राई र दीपक मगर/रमेश राई र राजिव राई  तृतीय भए ।

यस्तै, गल्र्स डबलतर्फ श्वेता राई र इच्छा मगर प्रथम, लक्ष्मी तामाङ र एलिशा राई द्धितिय, मिना कुलुङ र सरस्वती सुनुवार/दिपिका कार्की र मन्नु राई तृतीय भए । यस्तै, ब्वाईज डबलतर्फ नै अर्जुन राई र सञ्जीव राई प्रथम, रोशन घिमिरे र मुकेश पोख्रेल द्धितिय, समीर पौडेल र वसन्त चन्द/प्रदिव बस्नेत र यज्ञ यादव तृतीय भए ।

पुरुष र महिलातर्फका प्रथम, द्धितिय तृतीय भएका खेलाडीले पुरस्कार क्रमशः नगद ६ हजार, ३ हजार, २/२ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र  हात पारे । विजेता खेलाडीहरूलाई मेयर तिलक राईले पुरस्कार वितरण गरेका थिए ।

मेयर राईले विजेता खेलाडीहरूलाई बधाई तथा शुभकामना दिँदै शरीरलाई चुस्त दुरुस्त राख्न दैनिक शारीरिक व्यायाम गर्न सुझाव दिए । दैनिक रूपमा व्यायाम गर्दा स्मरण शक्तिमा हुने ह्रासलाई रोक्न मद्दत गर्ने उनको भनाई थियो ।