प्रदेश १ बाट सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने ५ जना मन्त्री मध्ये भगवती चौधरी सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएकी उनी तेस्रो प्रयासमा नेपाली काँग्रेसका विजय कुमार गच्छदारलाई पराजित गर्न सफल भइन् । गच्छदार लामो समय सरकारमा रहँदा केही काम गर्न नसकेको आरोप लगाउँदै निर्वाचनमा होमिएकी चौधरीले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । सुनसरीको सीमावर्ती क्षेत्रका धेरै महिला अझै शिक्षाको पहुँच बाट बाहिर रहेको र दाइजोको कारण हिंसामा परिरहेका छन् । महिला हिंसाको अन्त्य र महिला उद्यमशीलताको विकाशका योजना बारे कपुरीकर्मी विनय बाह्रकोटीले नवनियुक्त मन्त्री भगवती चौधरी सँग गरिएको टेलिफोन संवाद । 
मन्त्री नियुक्त हुनुभयो, कस्तो महसुस गर्नुभएको छ ?
यो मेरो काँधमा ठुलो जिम्मेवारी आएको छ । मैले मन्त्री पदलाई काम गर्ने अवसरको रूपमा बुझेको छु । मेरो मन्त्रालय आफैमा समन्वयात्मक भूमिकामा काम गर्ने खालको भएकाले अन्य मन्त्रालय सँगको समन्वयमा काम गर्छु । 
निर्वाचनको दौरानमा जनता सँग न्याय माग्नु भएको थियो । अब पीडित महिला तथा बालबालिकालाई न्याय दिने ठाउँमा हुनुहुन्छ । कसरी न्याय दिलाउनुहुन्छ ? 
म यस विषयमा गम्भीर छु । महिलाका सवालमा विगतमा पनि मैले काम गर्दै आएको हुँ । महिलालाई उद्यमशील बनाउने सँगसँगै महिला बेचबिखन रोक्नुपर्ने अवस्था छ । म जतिसक्दो काम गरेर देखाउँछु । 
तपाईँकै क्षेत्रमा पनि दाइजो (दहेज)को समस्या व्याप्त छ । जसको कारण महिलाहरू पीडित भएका छन् । यसको नियन्त्रण कसरी गर्नुहुन्छ ? 
दहेज धेरै बढ्दै गएको मैले देखेको छु । कतिपय हिसाबमा मन खुसी छोरीलाई दहेज दिनु राम्रो पनि होला । तर जबरजस्ती दहेज मागेर ऋणमा पार्ने काम गर्नु हुँदैन । म दहेजकै कारण महिलामाथि हुने हिंसा अन्त्य गर्न लागिपर्छु । 
शिक्षाको पहुँचमा नभएका महिलाको सङ्ख्या त्यत्तिकै छ । बलात्कार लगायत हिंसामा परेमा महिला अझै न्यायको पर्खाइमा छन् नि !
संविधानमा नै शिक्षाको सहज पहुँचको व्यवस्था गरिएको छ । मैले यस विषयमा बुझेको छु । महिला माथिको हिंसा पनि अशिक्षाकै कारण भइरहेको छ । अब मेरो मन्त्रालयले मात्र न्याय दिलाउन कतिको सम्भव छ । म कुरा गर्छु । अरू मन्त्रालय सँग समन्वय गरेर काम गर्छु । 
अरू मन्त्रालय सँग समन्वय गरेर आफ्नो निर्वाचन क्षेत्रमा अन्य के काम गर्नुहुन्छ ? 
म मेरो क्षेत्रमा मात्र हैन । सबै तिर काम गर्न मन्त्री भएको हुँ । मेरो क्षेत्रका जनताको शिर उच्च राख्ने गरी म काम गरेर देखाउँछु । आजै यसो र उसो गर्छु भनेर बाचा गर्न हतारो हुन्छ । काम गर्छु । धन्यवाद !