• रश्मि प्रधान 
धरान : यसै शैक्षिक सत्र देखी प्लस टु सुरु गरेको होलील्याण्ड इन्टरनेशनल स्कुलले अन्तर विद्यालय बास्केटबल रनिङ कप प्रतियोगिता पनि प्रारम्भ गरेको छ। कक्षा ८ देखी ११ सम्मका विद्यार्थीहरूको समग्र विकाशको लागि सुरु गरिएको ‘प्रथम होलिल्याण्ड ३ बाई ३ रनिङ कप २०७९’ माघ ७ र ८ गते सञ्चालन हुनेछ ।
प्रतियोगिता धरान-९ स्थित होलिल्याण्डको प्लस टु भवनको परिसर (पुरानो कृति टेलिभिजनको भवन) मा सञ्चालन हुने आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्लसटूका कोअर्डिनेटर हेमराज हमालले भने ‘विद्यार्थीहरूलाई दैनिक जीवनको व्यवहारिक ज्ञानलाई प्राथमिकता दिँदै आएको स्कुलले पहिले देखी नै खेलकुदमा अव्वल छात्र छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।’
विद्यार्थीहरूलाई फरक ढङ्गमा स्कुल तह देखी नै आफूले पढ्दै आएको विषय दैनिक जीवनमा कसरी प्रयोग हुँदै आएको छ भन्ने प्रयोगात्मक पद्धति पठन पाठनमा अपनाइएको हमालको भनाई छ । त्यस मध्ये शारीरिक, मानसिक विकाशको लागि खेलकुद विद्यार्थीको प्राथमिकतामा पर्ने भएकोले बास्केटबलको रनिङ कप सुरु गरिएको उनले बताए । होलिल्याण्डले कलेज तहमा म्यानेजमेन्ट विषय सुरु गरेको हो ।   
स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक रोहित दर्नालका अनुसार प्रतियोगिता महिला र पुरुष अलग अलग हुनेछ । प्रतियोगितामा धरानका १५ वटा विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् । सहभागी विद्यार्थीहरूबाट प्रतिस्पर्धाका लागि २५ टिम बनाइने छ । 
माघ ७ र ८ गते सञ्चालन हुने प्रतियोगितामा विजेता टिमलाई नगद ४ हजार रुपैयाँ सहित ट्रफि र मेडल प्रदान गरिने छ । उपविजेताले २ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगीताका उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार पनि प्रदान गरिने छ । प्रतियोगितामा प्राविधिक सहयोग होराईजन क्लब र हेलिशा बुक्स एण्ड स्टेशनरीले गर्ने बताइएको छ ।