धरान : धरानमा दोस्रो प्रदेश १ अन्तर कलेज अल्फाबिटा बास्केटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । सुनसरी जिल्ला बास्केटबल सङ्घको प्राविधिक सहयोग, अल्फबिटा एजुकेसन कन्सल्टेन्सीको प्रयोजनमा प्रतियोगिता हुन लागेको हो । धरान रङ्गशालाको कभर्ड हलमा आउँदो फागुन ५ देखी १२ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रयोजक अल्फाबिटा एवं जिल्ला बास्केटबल सङ्घद्वारा प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । आयोजक अल्फाबिटाका म्यानेजिङ डाइरेक्टर सञ्जीव राईले भने ‘खेलकुदको माध्यमबाट विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापलाई प्रोत्साहित गर्न अल्फाबिटाले पछिल्लो समय लोकप्रिय खेल बनेको बास्केटबल प्रतियोगिता सञ्चालन गरेको हो ।’
भानुचौक साधना भवनमा रहेका अल्फाविटाले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूलाई परामर्श, तयारी कक्षा सञ्चालन गर्दै आएको छ । कोविडको महामारीका कारण २ वर्ष स्थगित सेवा पुनः सञ्चालनमा आएपछि कन्सल्टेन्सीमा अहिले ६० जना विद्यार्थी तयारी कक्षामा छन् । प्रतियोगिता अल्फाबिटा पुनः सञ्चालनमा आएको सन्देश दिन पनि आयोजन गराएको हो । 
प्रतियोगीताका संयोजक प्रदेश बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईका अनुसार प्रतियोगितामा प्रदेश १ का झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा लगायत जिल्लाका कलेजहरूबाट गल्र्स र ब्जाइजका बास्केटबल टिमको सहभागिता रहने छ । २३ वर्ष मुनीका कक्षा ६ देखी स्नातक तह सम्मका विद्यार्थी टिममा सहभागी हुन पाउने छन् ।
प्रतियोगिता सञ्चालनका लागि सहभागी खेलाडीहरूलाई ब्वाइजको १२ टिम र गल्र्सको ८ टिम बिच प्रतिस्पर्धा गराइने उनले बताए । विद्यालय स्तरबाटै बास्केटबल खेलको प्रवर्द्धन गर्न कक्षा ६ सम्मका विद्यार्थीका लागि सहभागिताको दायरा बढाइएको उनले बताए । 
प्रतियोगीताका विजेता ब्वाइज टिमलाई नगद पुरस्कार ३० हजार रुपया सहित ट्रफि, मेडल प्रदान गरिने छ । उपविजेताले १५ हजार नगद पाउने छ । विजेता गल्र्स टिमलाई २० हजार नगद पुरस्कार, ट्रफि, मेडल प्रदान गरिने छ । उपविजेताले १० हजार रुपया पाउने छ ।
प्रतियोगिताको दुवै टिमका उत्कृष्ट खेलाडी, हाइस्कोरर, उदयमान खेलाडीलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगीताकै बिच दुवै टिमको ‘प्रकाश पौडेल थ्री प्वाइन्ट कम्पिटिसन’ खेल पनि सञ्चालन हुनेछ ।
प्रसिद्ध गायक तथा पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेलको प्रायोजनमा हुने यो कम्पिटिसन प्रतियोगिताको विशेष आकर्षक खेल हुने आयोजनकहरुले बताएका छन् । कम्पिटिसनको विजेतालाई छुट्टै नगद पुरस्कार ३ हजार रुपया र ट्रफि, मेडल प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा बास्केटबल सङ्घका सुनसरी जिल्ला अध्यक्ष नारायण सुवेदीले नेपालमा बास्केटबलको सुरुआत धरान देखी भएको स्मरण गराउँदै गोर्खा भर्ती केन्द्रका लागि घोपा क्याम्पमा आएका बेलायतीहरूले पहिलो पटक बास्केटबल कोर्ट निर्माण गरी यो खेलको सुरुआत गरेको बताए । त्यहाँबाट पूर्व गोर्खा सैनिकहरूले बास्केटबललाई युवाहरूमा लोकप्रिय बनाएका हुन् । 
पछिल्लो समय धरानबाट प्रशिक्षित बास्केटबल खेलाडीहरू बास्केटबलका राष्ट्रिय टिम, प्रतियोगितामा सहभागी हुँदै आएका छन् । गएको मङ्सिरमा भएको १३ ओं दक्षिण एसियाली खेलकुदमा धरानबाट प्रदेश १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले कांस्य पदक हासिल गरेका छन् । त्यस्तै महिला टिम कप्तान डा.आशा राईले रजत पदक हासिल गरेकी छन् ।