आदरणीय धरानका नगर प्रमुख हर्क साम्पाङ ज्यू,

बिहानै चियाको चुस्की सँगै तपाईँका १/२ वटा फेसबुके प्रतिक्रियाहरू (स्टाटस) पढ्ने अवसर मिल्यो । सर्वप्रथमत: वराहक्षेत्र नगरपालिका र त्यसका नगर प्रमुखलाई लक्षित गरी लेखिएको तपाईँको फेसबुकबाट सार्वजनिक अभिव्यक्तिको घोर निन्दा तथा भत्सर्ना गर्दछु ।

तपाईँ स्वतन्त्र हुनुहुन्छ, तपाईँका अभिव्यक्ति स्वतन्त्र छन् यसको अर्थ तपाईँले अरूको स्वतन्त्रता, अधिकार र कार्यक्षेत्र माथि धावा बोल्न पाउनुहुन्छ भन्ने छैन । कहिले वराहक्षेत्रको पर्यटकीय क्षेत्र (अमाहा सिमसार) 'धरानको रहेछ' भन्ने तपाईँका उप-प्रमुखको भनाइ त कहिले वराहक्षेत्रको भु-भाग आफ्नो स्वार्थका निमित्त जथाभावी प्रयोग गरिरहेको तपाईँको कदम, जुन बराहक्षेत्रबासीहरूलाई स्वीकार्य छैन ।

मेयर साब,

वराहक्षेत्रको भूमि बिनाबुझ तपाईँले प्रयोग गर्ने अधिकार तपाईँलाई कसले दियो ?

पानी धरानलाई चाहिने, धराने स्वार्थका लागि वराहक्षेत्रले आफ्नो भूमि उपयोग गर्न दिनुपर्ने त्यो पनि बिना निर्णय, बिना सहमति, बिना सहकार्य । अनि आफ्नो नगरभित्र सञ्चालित जथाभावी काम रोक्दा तपाईँले धम्कीपूर्ण भाषाशैली प्रयोग गर्ने र वराहक्षेत्रले तपाईँसँग सहकार्य गर्न आउनुपर्ने तपाईँको बुझाइको स्तर कति हो ? यस खानेपानीका सवालमा सहकार्य, सहमति र सम्झौताका लागि पहल धरानले बराहक्षेत्रसंग गर्ने कि वराहक्षेत्रले धरानसँग ?

तपाईँका धम्कीपूर्ण स्टाटसले डराएर वराहक्षेत्रले आफ्नो भूमिको जथाभावी प्रयोग गर्न दिइनुपर्छ भन्ने तपाईँको बौद्धिकता कहाँ सम्मको हो ?

तपाईँको नगर उपमहानगर होला, वराहक्षेत्र नगरपालिका मात्रै हो । तथापि सबै स्थानीय सरकारलाई कानुनले दिएको अधिकार समान छ । कानुनी राज्यमा तपाईँका मुद्दा मामिलाका धम्की र प्रतिक्रियाले डराएर कोही दुलोमा पस्छ भन्ने तपाईँको बुझाइ छ भनेँ त्यसलाई आजैबाट हटाइदिनु होला ।

आफू समान अधिकार प्राप्त स्थानीय सरकारलाई मुद्दाका धम्की र पञ्चायती मिचाहा, हेपाहा शैली अपनाउँदा वराहक्षेत्रले सहेर बस्छ भन्ने तपाईँको आत्मविश्वास छ भने कृपया त्यो भुल नगर्नुहोला ।

जसरी धराने जनता धरानको विकासका लागि तपाईँको साथमा छन्, त्यसरी नै वराहक्षेत्रको विकास र आफ्नो क्षेत्रको संरक्षणका सवालमा वराहक्षेत्रका जनता पनि वराहक्षेत्रका मेयरको साथमा छन् । धरान र वराहक्षेत्र बिच भाइचाराको सम्बन्धलाई तपाईँको नेतृत्वले खराब सम्बन्धका रूपमा स्थापित नगराओस् ।

अन्त्यमा, यस प्रकारको हेपाहा, मिचाहा, पञ्चे र मण्डलले शैली त्यागेर धरानको विकास र हितका लागि बराहक्षेत्रसंग सहकार्य गर्न आउनुहोस् वराहक्षेत्र सदैब तपाईँलाई सहयोग गर्न तयार छ । तर आगामी दिनमा पनि यस्तै हैकमवादी र अहमतावादी शैली रहिरह्यो भने छिमेकीले मात्रै होइन धरानेले नै तपाईँमाथि प्रश्न नउठाउलान् भन्न सकिन्न ।

उही तपाईँको शुभेच्छुक 

सन्तोष चौलागाई 

चक्रघट्टि जेसीज अध्यक्ष २०२०

जय वराहक्षेत्र !