इटहरी : इटहरी उपमहानगरपालिकाले तीन पाङ्ग्रे ई-रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया अगाडी बढाए सँगै सफारीहरूको धमाधम दर्ता सुरु भएको छ । केही दिन भित्र ५० वटा सफारी दर्ता भएका छन् ।

अव्यवस्थित रूपमा रहेको ई-रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई-रिक्सा दर्ता गरी चलाउन पाइने भएको छ । प्रदेश सरकारले ई-रिक्सा व्यवस्थापन नगरहरूले आफैले व्यवस्थित गर्न अनुमति दिएपछि इटहरी उपमहानगरले आफैले नियमावली तयार गरी दर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

नगर प्रमुख हेमकर्ण पौडेलले ई-रिक्सा सञ्चालक र सम्बन्धित सरोकारवालासँग बैठक बसी दर्ता प्रक्रियामा लाग्ने शुल्क घटाइएको बताए । बढी शुल्क राखिएको भन्दै विरोधमा उत्रिएका सफारी चालकहरू शुल्क घटाए सँगै सहमतिमा आएका हुन ।

इटहरीको मुख्य समस्याका रूपमा देखिएको ई-रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ । साथै व्यवस्थित रूपमा लैजानलाई ई-रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ। जसले गर्दा ई-रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुने भएको छ ।

सफारीलाई व्यवस्थापन गर्दै लैजानुपर्ने सबैको दायित्व भएको नगर प्रमुख हेमकर्ण पौडेलको भनाइ थियो । तीन पाङ्ग्रे (ई-रिक्सा) व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ संशोधनगरी ई-रिक्सा दर्ता गर्ने कार्य निरन्तर रूपमा अघि बढाउन सहमति गरेको बताए ।

यस अघि पारित भएको सरसफाइ तथा पार्किङ शुल्क खारेज गर्ने, बिमा अनिवार्य नगर्ने, ई-रिक्सा दर्ता शुल्क रु १४०० लाई घटाएर रु ११०० कायम गर्ने, बाटो इजाजत पत्र शुल्क रु.१५०० लाई घटाएर रु.१२०० कायम गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ ।

यसबाहेक कार्यविधिमा भएका अनुसूची-१ बमोजिम लाग्ने अन्य शुल्क यथावत् लाग्ने उपमहानगरले जनाएको छ  ।