वराहक्षेत्र : नगरपालिका भित्र रहेका अस्पताल, स्वास्थ्य संस्थाको स्तरोन्नति, जनशक्ति थप, उपकरण र सेवा बिस्तार बारे नगर प्रमुख रमेश कार्कीले सङ्घीय सरकारका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन्।

बुधवार सिंहदवार काठमाडौँ स्थित स्वास्थ्य मन्त्रालयमा पुगेर नगर प्रमुख कार्कीले स्वास्थ्य मन्त्री बस्नेतलाई लिखित रूपमा योजना समेत पेस गरेका छन्।

वराहक्षेत्र २ चतरा स्थित निर्माणाधीन चतरा अस्पतालको भवन योजनासँगै वडा नं.१ सुर्यकुण्डमा अस्पताल, वडा नं.६ र ९ मा रहेको श्रीलङ्का टप्पुमा रहेका स्वास्थ्य इकाईको स्तरोन्नति, प्रसूति गृह सञ्चालनका लागि जनशक्ति र थप उपकरणको माग गरेको नगर प्रमुख कार्की जानकारी दिए ।

त्यस्तै नगर अस्पतालमा थप उपकरण, भौतिक संरचना, मधुवन प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा विकास गराउन जनशक्ति, भौतिक संरचना र उपकरणहरूको आवश्यक रहेकाले व्यवस्थानकालागि मन्त्री बस्नेतलाई अनुरोध गरेको कार्कीले बताए ।

वडा नं.३ देविथानमा निर्माण सुरु भएको भरौल अस्पताल भवनमा बजेट र आवश्यक सहयोग प्रकाशपुर र कालाबञ्जरमा रहेका स्वास्थ्य चौकीको स्तरउन्नती त्यस्तै नगर भित्र रहेका स्वास्थ्य संस्थाहरूको बारेमा जानकारी गराउँदै स्तरोन्नतिका लागी बजेट माग गरिएको उनले बताए ।

कार्कीले हाल नगरमा फैलिरहेको डेङ्गु रोगको परीक्षण नगरपालिकाले निःशुल्क गरिरहेका र यसकालागि परीक्षण गर्न आवश्यक कीट उपलब्ध गराउन समेत आग्रह गरेका थिए ।

सिंहदवार स्थित मन्त्रालयमा भएको भेटमा नगर प्रमुख कार्की सहित वडा नं.७ का अध्यक्ष कपिल आचार्य, समाजसेवी राधिका कट्वाल, भीम कट्वाल लगाएको उपस्थिति रहेको नगर प्रमुख कार्कीका स्वकीय सचिव महेश घिमिरे (सुरज) ले जानकारी दिए ।