धरान : विश्व स्तनपान सप्ताहको प्रारम्भ गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विएस्सी नर्सिङका विद्यार्थीहरूले सार्वजनिक स्थल, कार्यालयहरूमा बच्चालाई आमाको दूध खुवाउने स्तनपान कक्षको माग गरेका छन् ।

विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्त १ देखि ७ तारिखसम्म मनाइन्छ । सप्ताहको प्रारम्भ गर्दै नर्सिङका विद्यार्थीहरूले प्रतिष्ठानमा आइतबार आयोजित स्तनपान सचेतना कार्यक्रममा सार्वजनिक कार्यस्थलमा स्तनपान कक्षको सुनिश्चितमा जोड दिइएको हो ।

पछिल्लो समय महिलाहरू कार्यालयमा व्यस्त हुने गरेकाले शिशुले पर्याप्त मात्रामा स्तनपान गर्न नपाएको विद्यार्थी शुभेच्छा कार्कीले बताइन । उनले भनिन् ‘आजभोलि आमाहरू पनि धेरैजसो जागिर गर्न थाल्नु भएकाले उक्त समयमा शिशुलाई स्तनपान गराउन पाउँदैनन् ।’ यही कारण कार्यालयमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।

अर्की छात्रा निलम गुरुङले शिशुको शारीरिक विकासका लागि आवश्यक पानी, मिनिरल, ग्लुकोज तथा अन्य भिटामिन र रोग प्रतिरक्षात्मक तत्त्व समेत आमाको दूधमा नै प्राप्त हुने बताउँदै भनिन् ‘आमाको दूध खुवाएमा अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुँदैन ।’

शिशुलाई ६ महिनासम्म स्तनपान गराउँदा शिशुहरूको शारीरिक र मानिसक वृद्धि र विकासका लागि सहयोग पुग्ने बताउँदै भनिन् ‘स्तनपानले बच्चासँग आमाको आत्मीय बन्धनको पनि विकास हुन्छ ।’

विद्यार्थीहरूले ‘स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता’ नाराका साथ सचेतना कार्यक्रम आयोजना गरेका हुन । कार्यक्रममा सुत्केरी आमाहरूलाई स्तनपानले गर्दा आमा र बच्चालाई हुने फाइदाहरूबारे जानकारी दिइएको थियो ।

बच्चाको वृद्धि विकासका लागि आवश्यक सबै प्रकारका पोषक तत्त्वहरू आमाको दूधमा हुन्छ । शिशुलाई कुपोषणबाट जोगाउनका लागि निरन्तर ६ महिना स्तनपान गराउनु जरुरी भएको जनचेतना बढाउन सरोकारवाला संस्थाहरूलाई ध्यानाकर्षण गराइएको छ ।

विद्यार्थी नेहा मण्डलले कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण बनाइदिनु सम्बन्धित सबैको जिम्मेवारी रहेको बताउँदै भनिन् ‘‘स्तनपानलाई प्राथमिकतामा राखेर सार्वजनिक बहसको विषय बनाउन आवश्यक छ ।’

विद्यार्थी अन्जली आचार्यले सचेतता कार्यक्रममा चिकित्सकको सल्ला बिना शिशुलाई आमाको दूध बाहेक अन्य कुनै किसिमको दूध नखुवाउन र दूधदानीको प्रयोग नगर्न अनुरोध गरिन् ।