इटहरी : इटहरी उपमहानगरपालिकाको आयोजनामा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरे । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए ।

राष्ट्रिय स्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरले पुरस्कृत गर्ने उनले घोषणा गरे ।  खेलकुद क्षेत्रलाई विकास गर्दै जाने उनको भनाई थियो ।

कार्यक्रममा उपमहानगरपालिकाको शैक्षिक शाखा प्रमुख दोर्ण दाहालले उपमहानगरका माध्यमिक स्तरका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए । उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिका स्तरीय प्रतियोगितामा भाग लिने बताए ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाई जम्प, लङ जम्प लगायतका खेल समावेश गरिएको छ ।