धरान : प्यासिफिक कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको तरहरा धरान सडकको एकतर्फी दुई लेन सडकको कालोपत्रे हुन अब ५ सय मिटर मात्रै बाँकी छ । अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ । उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला भएपछि यातायात व्यवसायी मजदुर तथा यात्रीहरूलाई केही राहत हुने भएको छ ।

२०८० सालको असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७७ सालबाट सुरु भएको सडक निर्माणमा लामो समयदेखि नियमित काम नहुँदा इटहरीबाट धरान हुँदै पहाडी जिल्लाका विभिन्न क्षेत्रमा यात्रा गर्नेहरूले कष्ट भोग्नु परेको थियो ।

विराटनगरको रानी-धरान ६ लेनको सडक अन्तरगतको तरहरा-धरानको करिब १० किमी सडकमा २५ सय मिटर सडकको कालोपत्रे हुने काम बाँकी थियो । एक तर्फको बाँकी रहेको दुई किमी सडक मङ्गलवार पुरा भएको र पानीपीया क्षेत्रमा बाँकी ५ सय मिटरको कालोपत्रे चैतभित्र सम्पन्न हुने कन्स्ट्रक्सनका सिनियर ल्याब टेक्निसियन अनिल देवकोटाले जानकारी दिए ।

एकतर्फ सडक पिच भए पछि आज साँझदेखि नै सवारी आवत जावत खुल्ला भएको उनले बताए । वर्षौदेखि सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलोचना खेपिरेका थिए ।

मङ्गलवार सुनसरी क्षेत्र नं. १ (२) का प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, विजय राई, नेकपा एमाले कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान उपमहानगर सहइञ्चार्ज टिका माङ्ले, जिल्ला सचिवालय सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगरपालिका २ नं वडाध्यक्ष रमेश राई, १८ नं. वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठलगायतको टोलीले सडकको अनुगमनसमेत गरेको छ ।

एकातर्फको दुई लेनको कालोपत्रे पुरा भई सडक खुलेपछि ठुलो राहत भएको मजदुर नेता भीमज्वाला राईले जानकारी दिए । उनका अनुसार सडक बन्न ढिलाइ हुँदा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ । १४१ जना घाइते भएका छन् ।

२०८० असारसम्ममा सबै सडक निर्माण सकिने गरी काम भइरहेको डिभिजन प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले जानकारी दिए । यो सडक २०७६ सालमा सरकारसँग ठेक्का सम्झौता भएको थियो ।

Dharan Tarahara Sadak4