धरान : प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हराएको तथा चोरी भएको सर्वसाधारणको ९ वटा मोटरसाइकल २ वटा चार पाङ्ग्रे सवारी फेला पारी सवारी धनीको जिम्मा लगाएको छ ।

इटहरीमा बिहीबार आयोजित एक कार्यक्रम बिच कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक प्रहरीले फेला परेका सवारी मध्ये ३ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका छन् ।

ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा हराएको सवारी साधन खोजी गर्न सवारी धनीले दिएको निवेदनको आधारमा ट्राफिक प्रहरीले खोजी जारी राखेको छ । उक्त कार्यालयका अनुसार खोजीका प्रदेशका विभिन्न स्थानमा नक्कली नम्बर प्लेट राखेर चलाएको तथा सवारी साधनको आवश्यक कागज पत्र नभएको २१ वटा मोटरसाइकल, ६ वटा साना सवारी र एउटा ट्याम्पो फेला पारेको छ ।

त्यस मध्ये खोजीका लागि निवेदन परेको ९ वटा मोटरसाइकल र २ वटा साना सवारी साधन सम्बन्धित सवारी धनीलाई जिम्मा बुझाई सकेको ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यक्रममा कोसी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले सवारी धनी तथा चालकहरूलाई सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न आग्रह गर्दै पार्किङ गरेपछि ह्वील लक, चेन लक, ह्यान्डल लक, डिस्क लक अनिवार्य लगाउन सचेत गराए ।

सवारीमा सुरक्षा साइरनहरू जडान गर्नका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा सवारी पार्किङ नगर्न समेत डिआइजी चन्द्र कुवेर खापुङले सल्लाह दिएका छन् ।

कार्यक्रममा सम्बन्धित सवारी धनीले आफ्नो हराएको सवारी साधन फेला पारी आफूहरूलाई जिम्मा दिएकोमा ट्राफिक प्रहरीको प्रशंसा गरेका थिए ।

Harayeko gaadi jimma 2