धरान : ट्राफिक व्यवस्थापनलाई अब प्रविधिको माध्यममा केन्द्रित गरिनु पर्ने कुरामा कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले जोड दिएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा निरीक्षण भ्रमणको क्रममा बिहीबार उनले बढ्दो सवारी साधनको सङ्ख्या र ट्राफिक व्यस्ततालाई व्यवस्थित गर्न अब प्रविधि केन्द्रित हुनुको विकल्प नभएको बताए ।

सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने सामग्री र उपकरणहरूको निरीक्षण गर्दै प्रदेश प्रहरी प्रमुख खापुङले प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

उनले प्रहरी कर्मचारीहरूलाई भने, ‘आम नागरिकहरूमा सडक सुशासनको महसुस हुने गरी पहिलो प्राथमिकताका साथ ट्राफिक व्यवस्थापन मिलाउने, चेकिङको क्रममा कसैलाई दुःख हैरानी दिन नहुने गैह्र व्यावसायिक काम गर्न हुँदैन ।’

सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक चेक प्वाइन्ट राख्न निर्देशन दिए । सवारी चालक, पैदल यात्रीहरूलाई नियमित रूपमा ट्राफिक प्रशिक्षण दिनुपर्ने उनको भनाई थियो । उनले भने, ‘ट्राफिक व्यवस्थापन मिलाउन प्रभावकारी रूपमा प्रविधिको प्रयोग जरुरी भैसकेको छ ।’