धरान : अफ्रिकी मुलुक केन्यामा हालै सरकारले कर वृद्धि सम्बन्धी विधेयक संसदमा पेस गरेको विरोधमा भएको उग्र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा गोली लागी यो समाचार लेख्दा सम्म ५ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गर्ने प्रयास गर्दा उक्त घटना भएको हो । उनीहरूले संसद् भवनको एक छेउमा आगो लगाई दिएका छन् ।

बीबीसीले जनाए अनुसार केन्याली राजधानी नैरोबीमा मङ्गलवार प्रदर्शनकारीहरू प्रहरीको सुरक्षा घेरा तोडेर संसद् भवनमा प्रवेश गरेको हो । उग्र प्रदर्शन अहिले पनि जारी छ । यसै क्रममा प्रहरी कारबाहीमा ५ जनाको मृत्यु भएको छ ।

केन्याली सरकारले हालै संसदमा नयाँ विधेयक पेस गरेको थियो । विधेयक पास भएमा धेरै किसिमका शुल्क र करहरूमा वृद्धि हुनेछ । त्यसैको विराधमा आन्दोलनकारीहरू सडकमा उत्रिएका हुन ।

विरोध प्रदर्शनका बिच केन्याली राष्ट्रपति विलियम रुतोले एक सम्बोधनमा भनेका छन् ‘मुलुकको सुरक्षा र स्थिरता विरुद्ध खेलबाड गर्ने खतरनाक अपराधिहरुसंग सामना गर्न सबै उपायहरू अपनाइने छ ।’ प्रदर्शन उग्र बनेपछि नियन्त्रणका लागि सेनालाई सडकमा उतारे लगत्तै राष्ट्रपतिले उक्त सन्देश दिएको हुन ।

केन्या मेडिकल एशोसिएसनका अनुसार प्रहरीले कैयौँ राउण्ड गोली चलाउँदा आन्दोलनकारीको मृत्यु भएको हो । सडकमा अरू शवहरू पनि भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

यसअघि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । त्यसबाट पनि भिड नियन्त्रण नहुँदा रबरको गोली हानिएको बताइएको छ । प्रहरीले नियन्त्रणको क्रममा गरेको कारबाहीमा सयकडौँ घाइते भएको बताइएको छ ।