धरान : बराहका सञ्चालक, पूर्व सञ्चालक, कर्मचारीको सम्पत्ति नेपाल प्रहरीको सीआईबीद्वारा छानबिन गरी बचतकर्ताको रकम सुरक्षा गर्न धरान उपमहानगरपालिकाले प्रहरीलाई लिखित सिफारिस गरेको छ ।

बराह बचत तथा ऋण तथा सहकारी संस्थामा बचत गरेको रकम फिर्ता नपाएकोले सो रकम सुरक्षाका लागि संस्थाका सञ्चालक, कर्मचारी पूर्व सञ्चालक र सञ्चालकहरूको एकाघरको सम्पत्ति समेत छानबिन गर्नका साथै सम्बन्धित पक्षलाई सीआईबी प्रहरी मार्फत कानुनी कारबाही गर्न सिफारिस गरिएको हो ।

बराहका बचतकर्ता धरान-१६ का शङ्कर थापा क्षेत्री लगायत २६ जनाले उपमहानगरपालिकामा दिएको निवेदनको आधारमा प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले इलाका प्रहरी कार्यालयलाई औपचारिक रूपमा कारबाही अघि बढाउन लिखित सिफारिस गरेका हुन् ।

इलाका प्रहरी कार्यालय धरानलाई असार ३१ गतेको मितिमा लेखिएको सिफारिस पत्र नगर प्रमुख र उपप्रमुखलाई बोधार्थ दिएर जानकारी गराइएको छ ।

CIB-letter-KapuriNews