इटहरी : नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकबाट द्वारिकालाल चौधरी प्रदेश सदस्य मनोनीत भएका छन् । साउन १० को बैठकले चौधरीलाई भोक्राह नरसिंह गाउँपालिकाको इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।
यसअघि २०७९ को निर्वाचनमा माओवादी केन्द्र प्रवेश गरेका उनी सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । त्यस यता राजनीतिमा निष्क्रिय रहँदै आएका चौधरी पछिल्लो समय एमालेको विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए ।
इटहरी उपमहानगरपालिकाको निवर्तमान मेयर चौधरीले एमाले पार्टीको आन्तरिक कलह पछि माओवादीबाट उम्मेदवार भएका हुन् । उनी सँगै इटहरीका सागर सुवेदी सहित विभिन्न पार्टीबाट आएका १४ जनालाई प्रदेश सदस्य मनोनीत गरिएको हो । सुवेदीले कानुन विभाग प्रमुखको जिम्मेवारी समेत पाएका छन् ।
एमालेले विभिन्न विभाग, पालिका इन्चार्ज तथा प्रदेश समितिलाई पूर्णता दिएको छ । सोही अनुसार इटहरी उपमहानगरपालिकाको इन्चार्जमा प्रमोद शेर्पा र धरानको इन्चार्जमा विजय राई चयन भएका छन् ।