धरान : चाडपर्व नजिकिँदै गर्दा धरानमा व्यवसायीहरूले बङ्गुरको मासुमा मनपरी मूल्यवृद्धि गरेका छन् । यसले कुखुरा, राँगा, खसीको मासुको बजार भाउ पनि प्रभावित गर्ने सम्भावना बढेको छ ।

मासु व्यवसायी सङ्घले भने बङ्गुरको मासुमा भएको मनोमानी बजार भाउ नियन्त्रण गर्न कठिन भएको जनाएको छ ।

धरानमा बङ्गुरको मासु पसलै पिच्छे कतै प्रति केजी ५६० कतै ६०० सम्ममा विक्री भइरहेको छ । मूल्य वृद्धि नियन्त्रण गर्ने स्थानिय सरकार धरान उपमहानगरपालिका तथा मासु व्यवसायी सङ्घ भने तमासै भएकाले उपभोक्ता मारमा परेका छन् ।

मासु व्यवसायी सङ्घका अध्यक्ष मदन तामाङले मूल्यमा भइरहेको मनोमानी सङ्घको नियन्त्रण देखी बाहिर पुगेको बताए । उनले भने ‘सङ्घले बङ्गुरको मूल्य बढाएको छैन, तर व्यवसायीहरूले आफूखुसी भाउ बढाएर बेचिरहेका छन् ।’

उनले मनोमानी भाउ बढाउने व्यवसायीको पक्षमा तर्क गर्दै व्यवसायीहरूले प्रत्यक्ष घाटा व्यहोर्नुपर्ने भएकोले बङ्गुरको मासु प्रतिकेजी ४६० रुपैयाँमा बेच्न नसक्ने बताए । धरानमा बङ्गुरको उत्पादन अत्यन्तै न्यून भएकोले बाहिरबाट ल्याउनु परेकोले घाटा भइरहेको उनको भनाई छ ।

उनका अनुसार बजारको माग अनुसार धरानमा २० प्रतिशत मात्र बङ्गुर उत्पादन हुन्छ । ८० प्रतिशत मासु बाहिरबाट बङ्गुर ल्याएर आपूर्ति भइरहेको छ ।

सङ्घको तथ्याङ्क अनुसार धरानमा दैनिक ५ हजार केजीसम्म बङ्गुरको मासु खपत हुने गरेको छ । त्यो माग पुरा गर्न धरानमा उत्पादन नहुँदा झापा मोरङ, इनरुवा, झुम्का, बेलबारी र धनकुटा र भोजपुरबाट समेत बङ्गुर ल्याएर विक्री भइरहेको छ ।

बाहिरबाट बङ्गुर ल्याउँदा प्रति केजी ५ सय रुपैयाँ व्यवसायीलाई नै पर्ने उनले दाबी गरे । उनले भने ‘अघिल्लो वर्ष बङ्गुरमा रोग लागेका कारण धरानमा बङ्गुर पालन व्यवसाय घट्यो ।’ बङ्गुरको चारो, पाठा पाठीको भाउ बढ्दा बङ्गुर कृषकहरू बङ्गुर पालन छोड्ने अवस्थामा पुगेको उनले बताए ।

मूल्य वृद्धि अनियन्त्रित भएको स्वीकार गर्दै अध्यक्ष तामाङले भने ‘धरान उपमहानगरपालिकाले बङ्गुर उपलब्ध गरायो भने मात्र उसले तोकेको मूल्यमा मासु विक्री गर्न सकिन्छ ।’

व्यवसायीले वृद्धि गरेर विक्री गरेको भाउलाई उपमहानगरपालिकाले मूल्य कायम गर्नुपर्ने बताउँदै भने ‘मासुको भाउमा मनोमानी रोकेर एकरूपता कायम गर्न धरान उपमहानगरपालिकाले पहल गरे मान्य हुनसक्छ ।’

स्थानीय सरकार धरान उपमहानगरपालिकाले मासु व्यवसायीले पटक पटक गरेको मूल्य वृद्धि माथि हस्तक्षेप गर्दै आएको थियो । अघिल्लो वर्ष ३ महिना भित्रै ३ पटक मूल्य वृद्धि गरिएको थियो । केजीमा १०० सय रुपैयाँ बढाएर ४ सयबाट ५ सय बनाएकोमा नगरपालिकाले हस्तक्षेप गर्दै प्रतिकेजी ४०० कायम गरेका थियो ।

गत वर्ष २०८० असोज २४ गते धरानमा व्यवसायीहरू आफैँले आफूखुसी बङ्गुरको मासुमा भाउ बढाउँदा उपमहानगरपालिकाले व्यवसायीहरू सँग छलफल गरी प्रतिकेजी ४६० कायम गरेको थियो ।

यस वर्ष पनि व्यसायीहरुले आफूखुसी बङ्गुरको मूल्य वृद्धि गरेपछि धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले मासु व्यवसायी र किसानलाई छलफलमा बोलाउने बताए । उनले भने ‘बजारको माग र आपूर्तिको अवस्था अनुसार समय सापेक्ष मूल्यमा एकरूपता हुनुपर्छ मनोमानी भाउ बढाउन पाइन्न ।’