धरान : झण्डै आधा दर्जन गायन प्रतियोगिता चलिरहेको पूर्वमा थप ‘इष्टर्न सिङ्गिङ सुपरस्टार’ सिजन-१ गायन प्रतियोगिता सुरु भएको छ ।

धरान स्थित अलङ्कार म्युजिक एकेडेमीले सुरु गरेको पूर्वाञ्चल गायन प्रतियोगिताको अनलाइन अडिसन सुरु भइसकेको आज आइतबार पत्रकार सम्मेलनमा अध्यक्ष विनोद प्रियदर्शी राईले बताए ।

उनले भने ‘घरैमा बसेर गीतको पहिलो अन्तरा गाएको भिडियो सहित उमेर, परिचय, ठेगाना खुल्ने डकुमेन्ट एकेडेमीलाई सेण्ड गरेर अनलाइन अडिसनमा सहभागी हुन सकिने व्यवस्था गरिएको छ ।' अनलाइन बाहेक पूर्वका जिल्लाहरूमा प्रत्यक्ष अडिसन पनि आयोजना गरिने छ ।

उनका अनुसार २ चरण अनलाइन समेत फिजिकल ५ चरण सहित ७औँ चरणबाट उत्कृष्ट ५ जनाको छनौट हुनेछ । विशेष साङ्गीतिक साँझको रूपमा आयोजना हुने फाइनलमा ‘टप फाइब’ बिच प्रतिस्पर्धा हुनेछ ।

‘इष्टर्न सिङगिङ सुपरस्टार सिजन–१’ घोषित हुनका लागि उत्कृष्ट ५ प्रतियोगीले निर्णायक मण्डलको ६० प्रतिशत अङ्कमा अनलाइन भोटिङबाट ४० प्रतिशत अङ्क प्राप्त गर्नु पर्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतियोगिताको तेस्रो चरण देखी हुने लाइभ अनलाइन शो प्रतिस्पर्धामा गायक उपस्थित भई गायन प्रतिस्पर्धा गर्नु पर्नेछ । प्रतियोगिताको छनौट चरण देखी फाइनल शो सम्म निर्णायकहरू प्रसिद्ध गायक शम्भु राई, दीपक लिम्बु र मनीषा पोखरेल रहने अध्यक्ष राईले बताए ।

प्रतियोगिताको ‘सुपरस्टार’ विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । उनको एउटा गीत आयोजकले रेकर्ड गरिदिने छ ।

दोस्रो पुरस्कार १ लाख ५० हजार रुपैयाँ राखिएको छ । तेस्रो पुरस्कार नगद ५० हजार रुपैयाँ छ । उनीहरू दुवैको १/१ गीत आयोजक अलङ्कार म्युजिक एकेडेमीले रेकर्ड गरिदिने बताइएको छ ।

अडिसनको लागि फर्म भर्न असोज २० गते सम्म समय तोकिएको छ । पत्रकार सम्मेलनमा व्यवस्थापकद्वय प्रेमसेयङ राई अनिल खातीका अनुसार प्रतियोगिताको फाइनल माघ १२ गते आयोजना गरिने छ ।

वरिष्ठ सङ्गीत प्रशिक्षक अलङ्कार म्युजिक एकेडेमीका अध्यक्ष विनोद प्रियदर्शी राईले यसअघि सुरसाज सङ्गीत प्रतिष्ठान सञ्चालन गर्दै आएका थिए । यसअघि २०६३ सालमा धरानमा पहिला पटक ‘धरान आइडल’ गायन प्रतियोगिता उनकै नेतृत्वमा आयोजना भएको थियो ।

उक्त प्रतियोगितामा कुशल थलङ ‘धरान आइडल’ घोषित भएका थिए । पछिल्ला पटक अलङ्कार म्युजिक एकेडेमीबाट आयोजना गरिएको ‘इष्टर्न सिङगिङ सुपरस्टार’ गायन प्रतियोगिता पहिलो हो ।