इटहरी : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मङ्गलवारबाट सुरु गरेको आमरण अनसनको विषयमा मुख्यमन्त्री कार्यालय विराटनगरमा वार्ता सुरु भएको छ । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक गोपाल तामाङ सहित मुख्यमन्त्री र अन्य मन्त्रीहरू सम्मीलित वार्ता बुधवार साँझ सुरु भएको हो ।

पूर्व मुख्यमन्त्री कार्की पक्षबाट काँग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईँ, मोरङका कार्यवाहक सभापति नागेश कोइराला लगायत नेताहरू वार्तामा सहभागी भएको बताइएको छ । पूर्व मुख्यमन्त्री कार्कीले मङ्गलवारबाट अनशन सुरु गरेका छन् । दश वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार हुनुपर्ने मुख्य मुद्दा लिएर उनले अनसन सुरु गरेका हुन् ।

प्रशासनले प्रदेशसभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि उनले सोही स्थानमा अनसन सुरु गरेका थिए । मङ्गलवार साँझ प्रहरीले कार्कीलाई घर पुर्‍याएपनि पुनः देवकोटा चोकबाट उनले अनसन सुचारु गरेका हुन् । उनको अनसनमा काँग्रेसका विभिन्न तहका नेताहरू, महानगरपालिकाका मेयर, नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राई लगायतले समर्थन गरेका छन् ।

पूर्व मुख्यमन्त्री कार्कीले भदौ २३ गते आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विभिन्न ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए । दश वर्षमुनिका बालबालिकाका लागि विशिष्टिकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने उनको पहिलो माग छ । उनी मुख्यमन्त्री भएका बखत सुरु भएको कार्यक्रम वर्तमान सरकारले बजेट नीति तथा कार्यक्रमबाट हटाइएको छ ।

बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने देखि शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने उनको माग छ । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी-मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने जस्ता माग उनले राखेका छन् । जुन यसअघि उनले कार्यान्वयन ल्याउने प्रक्रिया सुरु गरेका थिए ।

त्यसबाहेक कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कार्कीले बताएका छन् । डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बताउँदै उनले जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने माग राखेका हुन् ।