विराटनगर : मुख्यमन्त्री केदार कार्कीद्वारा घोषित कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुविधा सोमबारदेखि लागु भएको छ ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग गरेको सम्झौता अनुसार निःशुल्क उपचार कार्यान्वयनमा आएको हो ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सेवाग्राहीले सोमबार बालबालिकाहरूको निःशुल्क उपचार गराएको बताइन् । प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन् ।

उनका अनुसार बालबालिका बिरामी भए पहिले नजिकको स्वास्थ्य चौकीमा लैजाने त्यहाँ उपचार हुन नसकी नजिकको अस्पतालमा रेफर गरिएका बिरामी अस्पतालमा पनि निको नभएको अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन तोकिएको अस्पतालमा उपचार सुविधा पाइने छ ।

निःशुल्क आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले बताइन् । बिरामी बालबालिकालाई जीवन बिमाले तोके बमोजिमको अ‍ौषधी प्रदेश सरकारले उपलब्ध गराउने छ ।

झापाको भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरु गरेको उनले जानकारी दिइन् ।